
ड्यालस (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिका भ्रमणमा रहेका नेपालका खेलकुद पत्रकारहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
शनिबार साँझ टेक्ससको हस्ट सिटीको हर्ब्स इन्डियन नेप्लिज रेष्टुँरामा आयोजित कार्यक्रममा नेजाका अध्यक्ष विकासराज न्यौपानेले खेलकुद पत्रकारहरुलाई टेक्ससको विशेष चिनो काउब्वाई ह्याट लगाएर स्वागत गरेका थिए ।
त्यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका उपाध्यक्ष सुमन थापाले पनि अतिथि पत्रकारहरुलाई काउब्वाई ह्याट लगाएर स्वागत गरेका थिए ।

गत साता ह्युस्टनमा सम्पन्न भएको क्रिकेटको रिपोर्टिङका लागि अमेरिका आएका कान्तिपुर दैनिकका खेलकुद ब्युरो चिफ विनोद पाण्डे, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य तथा अग्रज खेल पत्रकार प्रकाश तिमल्सिना, हेमन्त श्रेष्ठ, सुवास हुमागाईंलगायतलाई नेजाले स्वागत गरेको हो । त्यस अवसरमा नेजा अध्यक्ष न्यौपानेले नेपालमा रहेका पत्रकारहरुको सहयोगका लागि नेजाले गर्दै आएका कामहरुका बारेमा चर्चा गरेका थिए ।
महासंघका पूर्वकेन्द्रिय सदस्य तिमल्सिनाले नेपालबाट गरिने अनुमान र यहाँ अमेरिका आएपछि आफूहरुले यहाँका नेपाली पत्रकार साथीहरुको अवस्थाका बारेमा उल्लेख गरेका थिए ।
उनले टेक्ससका विभिन्न स्थानमा जाँदा देखाइएको आत्मीयताले आफूहरुलाई नेपालमै रहेको अनुभूति मिलेको समेत चर्चा गरे ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष सुमन थापा, अग्रज पत्रकार शैलेसराज आचार्य, नेजा महासचिव सुरज भण्डारी, बाबुराम दाहाल , नेजाका पूर्व क्षेत्रीय संयोजक रामचन्द्र भट्ट, शिव शर्मा, विमल बराल लगायतले खेल पत्रकारहरुलाई स्वागत गरेका थिए ।