
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार आफ्नी आमा हिराबेन मोदीको १०० औं जन्मदिनको अवसरमा गुजरातको राजधानी गान्धीनगरमा पुगे । जहाँ रहेको पुख्र्यौली घर पुगेर उनले आमासँग आशीर्वाद लिए । मोदीले आमाको जन्मदिनमा एक ब्लग पनि लेखेका छन् । नरेन्द्र मोदी डट इनको वेबसाइटमा प्रकाशित सो ब्लगमा मोदीले आफ्नी आमासँग जोडिएका विगतका धेरै पक्षहरु उजागर गरेका छन् ।
ब्लगमा मोदीले पहिलो पटक सार्वजनिक रुपमा उनको पिताको बारेमा पनि चर्चा गरेका छन् । मोदीले उनको घरमा हुर्किएका एक मुस्लिम व्यक्तिको पनि चर्चा गरेका छन् ।
को हुन् अब्बास ?
हिराबेनसँग सम्बन्धित घटना उद्धृत गर्ने क्रममा मोदीले अब्बास नामका व्यक्तिको उल्लेख गरेका हुन् । आफ्नी आमा हिराबेनको आनीबानीबारे लेख्ने क्रममा ब्लगमा भनिएको छ ,‘ मेरी आमा सधैं अरूको खुसीमा रमाउँथिन् । घरमा ठाउँ कम थियो तर उनको मन भने धेरै ठूलो थियो । हाम्रो घर रहेको स्थानबाट केही टाढा एउटा गाउँमा मेरा बुबाको घनिष्ट मित्र हुनुहुन्थ्यो । उहाँको अब्बास नामका छोरा थिए ।’
उनले अगाडि लेखेका छन् ,‘ साथीको असामयिक मृत्युपछि बुबाले अब्बासलाई हाम्रो घरमा ल्याउनुभएको थियो । एक प्रकारले अब्बास हाम्रो घरमा बसेर पढ्थे । हामी सबै छोराछोरीलाई जस्तै आमाले अब्बासको पनि धेरै ख्याल गर्नुहुन्थ्यो । ईदको दिन अब्बासको लागि उनको मनपर्ने परिकार पकाउने गर्थिन् । चाडपर्वको बेला नजिकैका केही केटाकेटीहरू हाम्रो घरमा खान आउँथे । तिनलाई पनि मेरी आमाको हातले बनाएको खाना धेरै मन पथ्र्यो ।’
मोदीले ब्लगमा चर्चा गरेपछि अब्बास नाम अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ शीर्ष ट्रेन्डमा छ ।
पहिलो पटक पिताको चर्चा
ब्लगमा भारतका प्रधानमन्त्री मोदी उनको पिताको पनि सम्झना गरेका छन् । यो उनले आफ्नो पिताबारे सार्वजनिक रुपमा उल्लेख गरेको पहिलो पटक हो । ‘पिताजी आज हुनु भएको भए गत साता उनले सय वर्ष पुरा गर्थे । अर्थात सन् २०२२ मा मेरी आमाको सय वर्ष सुरु हुँदैछ भने यही वर्ष मेरो पिताजीको शताब्दी वर्ष पूरा हुन्थ्यो ,’ मोदीले लेखेका छन् ।
मोदीले आफ्नो जीवनका लागि आमाबाबुलाई धन्यवाद दिँदै लेखेका छन्, ‘आज मेरो जीवनमा जे पनि राम्रो छ, मेरो व्यक्तित्वमा जे जति कुरा राम्रो छ, त्यो मेरो आमा र बुबाको कारणले भएको हो । ’
मोदीका दाजुभाइले पनि सम्झिए ‘अब्बास’
अब्बासको चर्चापछि भारतीय मिडियाले उनको खोजी गर्न थालेका छन् । इन्डियन एक्सप्रेसले प्रधानमन्त्री मोदीका दाजु र भाइसँग अब्बासको बारेमा कुराकानी गरेको छ । उनीहरुले पनि गुजरातस्थित मेहसाना जिल्लाको केसिम्पा गाउँका अब्बास मियाँजीभाइ रामसादा मोमिनको स्मरण गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ पंकजभाइ र अब्बास एउटै कक्षामा पढ्ने गरेको र दुई वर्ष उनी मोदीकै परिवारमा बसेको उनीहरुले स्मरण गरेका छन् ।
पंकजभाइले अब्बासलाई ‘असल व्यक्ति’को रुपमा स्मरण गदै भने ,‘ उनी दिनमा पाँच पटक प्रार्थना गर्थे । हज यात्रामा पनि गएका थिए ।’
‘अब्बासका पिता र मेरा पिता मित्र थिए । अब्बासको गाउँमा कुनै हाई–स्कूल थिएन । त्यसैले उनी प्राथमिक शिक्षा सकेपछि पढाई छोड्ने स्थितिमा पुगेका थिए । त्यस स्थितिमा मेरो पिताले अब्बासका पितासँग कुरा गरेर उनलाई हाम्रै घरमा बसाएर पढाउन मनाउनुभयो । अब्बासले हाम्रै घरमा बसेर ८ र ९ कक्षा पुरा गरे ,’ पंकजभाइ मोदीले भने ।
पंकजभाइका अनुसार अब्बास अहिले ६४ वर्षका भए । उनी गुजरात सरकारमा दोस्रो दर्जाको अधिकृतका रुपमा कार्यरत रहेर हालै सेवानिवृत्त भइसकेका छन् । गत साता मात्र उनी छोरासँग बस्न अस्ट्रेलियामा सिड्नी उडेको उनले जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री मोदीका जेठा दाइ सोमाभाइ मोदीले पनि अब्बास उनका कान्छो भाइको सहपाठी भएको र दुई वर्ष उनीहरुसँगै घरमा बसेर पढेको दोहो-याए । एजेन्सी