पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन

- प्रतिवादी र निहारिकाको छोराको डिएनए गर्न माग

-


     नेपालय न्युज    
     असार ३ गते २०७९


काठमाडौं, ३ असार


न्यायको लागि काठमाडौंमा आवरण अनसन बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–८ की १९ वर्षीया सोनालीकुमारी सिंह (निहारिका राजपुत) ले अनसन तोडेकी छन् । उनले पाँच बुँदे सहमतिपछि अनसन तोडेकी हुन् । शुक्रबार उनले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् ।


प्रतिवादी शिवराज श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।


प्रतिवादीलाई १५ दिनमा झिकाउन अदालतको आदेश


निहारिका न्यायका लागि अनसन बसेको छैठौं दिन उच्च अदालत जनकपुरधामले प्रतिवादी झिकाउन आदेश गरेको छ । निहारिकाले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध फागुन १२ गते उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेकी थिइन् ।

निहारिकाको मुद्दाको सुनवाई गर्दै उच्च अदालत जनपुरधामका न्यायाधीशहरु गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए । अदालतले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकेको छ । पत्रको २१ दिन समय सीमा हुने अधिकारीले बताए ।

निहारिका जिल्ला अदालतको फैसालबाट अनुसन्तुष्ट हुँदै निरन्तर न्यायका लागि लड्दै आएकी छन्। जनकपुरधामबाट सरकारले नसुनेपछि उनी छ दिनदेखि संघीय राजधानी काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनसन बसेकी छन्।

बलात्कार गर्ने उपर कारबाही गरी आफूलाई न्याय दिन भन्दै निहारिकाले २१ महिने छोरा च्यापेर काठमाडौं पुगेकी हुन् । ०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन्।

जाहेरीमा निहारिकाले बलात्कारपछि रहेको गर्भ फाल्न शिवराजले दबाब दिइरहेको समेत खुलाएकी थिइन् । जाहेरी दर्तापछि शिवराज पक्राउ परे र अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भए । जाहेरी दर्ता भएको २ वर्षपछि (०७८ माघ २४) मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले सोनाली (निहारिका) बलात्कृत नभएको फैसला सुनायो ।

यो फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटे । शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनशन बसिन्। प्रहरीको हस्तक्षेपपछि निहारिकाको अनशन बिथोलिएको थियो ।
जिल्ला अदालतको फैसलापछि निहारिकाले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन् । उच्च अदालतले तीन महिना बित्दासमेत मुद्दा पेशीमा नचढाएपछि निहारिका सरकारसँग न्याय माग्न काठमाडौं पुगेकी हुन् । आफू बलात्कृत भई छोरो जन्माएको र सरकारले बलात्कारीलाई कारबाही गरी आफूलाई न्याय दिनुपर्ने निहारिकाको माग छ । ‘म छोराको बाउ पाउनका लागि नभइ बलत्कारीलाई कारबाहीको लागि लडिरहेकी छु’ उनले भनिन् । आजकाे नागरिक दैनिकमा समाचार छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com