
भारतको केन्द्र सरकारले मंगलबार सेनामा भर्तीका लागि ‘अग्निपथ योजना’ ल्याएको छ । भारतीय सेनाका तीनै विभागका प्रमुखले संयुक्त रुपमा सेनामा अल्पकालीन नियुक्तिसम्बन्धी ‘अग्निपथ’ नीति घोषणा गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजनालाई ऐतिहासिक निर्णय बताए । ‘अग्निपथ’ अन्तर्गत युवाले कम्तिमा पनि चार वर्ष सेनामा काम गर्ने अवसर पाउनेछन् । त्यस्तै छनौट भएका चारमध्ये एक युवालाई भने पूर्ण अवधि सेनामा छनौट हुनेछन् ।
‘अग्निपथ’ योजनाले रोजगारीको अवसर बढाउने र यसमा सहभागीलाई ‘अग्निवीर’ भनिने रक्षा मन्त्रीले बताए । साथै उनले सेवा अवधिमा आर्जन गरेको सीप र अनुभवले विभिन्न क्षेत्रमा रोजगारी हासिल गर्न सक्नेछ बताए ।
‘अग्निवीरका लागि राम्रो तलब प्याकेज, चार वर्षको सेवापछि सेवा कोष प्याकेज र ‘मृत्यु तथा अपाङ्गता’ प्याकेजको पनि व्यवस्था गरिएको छ,’ भारतका रक्षामन्त्री राजनाथ सिंह भने । भारतका नौसेना प्रमुख एडमिरल आर.हरि कुमारले यस योजनाअन्तर्गत चार वर्षका लागि करिब ४५ हजार युवालाई भर्ना गरिने बताए । यो परियोजना अन्तरगत सेनामा महिलालाई पनि समावेश गरिने उनले बताए ।
अग्निपथ अन्तर्गत भर्ना भएका युवाहरुले ६ महिनाको तालिम लिनेछन् । यस योजनाको घोषणा गर्ने क्रममा प्रधानसेनापति मनोज पाण्डेले सरोकारवालासँग विस्तृत छलफल र परामर्शपछि यो योजना ल्याएको बताए ।
अग्निपथ योजना तीन महिनाभित्र भर्ती सुरु हुनेछ । अग्निवीरको उमेर साढे १७ वर्षदेखि २१ वर्षसम्मको हुनुपर्नेछ । रक्षा मन्त्रालयका अनुसार, ‘अग्निपथ योजनाले सबै अग्निवीरहरूलाई मासिक ३०,००० भारु र चौथो वर्षमा प्रतिमहिना ४०,००० भारुसम्मको आकर्षक मासिक प्याकेज प्रदान गर्नेछ ।
चार वर्ष पूरा गरेका सबै उम्मेदवारका लागि बृहत् आर्थिक प्याकेज ‘सेवा कोष’को व्यवस्था रहेको मन्त्रालयले भने । भारतीय युवाहरूमा सेनामा भर्ना हुनको लागि ठूलो चाहना हुने गर्छ । प्रत्येक वर्ष भारतीय सेनाबाट ६० हजार कर्मचारी अवकाश लिने गर्छन् । यी रिक्त पदमा खुलाइने भर्नाका लागि सेनाले सयभन्दा बढी स्थानमा भर्ना लिँदै आएको छ ।
विरोधका स्वर
सेन्टर फर पोलिसी रिसर्चका वरिष्ठ फेलो सुशान्तसिंह यस प्रस्तावप्रति त्यति सकारात्मक देखिएनन् । छोटो अवधिकालका लागि सेनामा भर्ना गराएर २४ वर्षभित्रै सेनाबाट बाहिरिँदा सशस्त्र अनुभव भएका बेरोजगारको संख्या बढ्ने र त्यसले देशको हित नगर्ने बताए ।
‘के तपाई साँच्चै सैन्य तालिम लिएका युवाको संख्या बढाउन चाहनुहुन्छ ? यी युवाहरू हिंसात्मक बन्दै गएको समाजमा फर्किनेछन् । सरकार किन हतियार चलाउने तालिमप्राप्त बेरोजगार युवाहरूको मिलिसिया तयार पार्दैछ ।’ भारतका विभिन्न स्थानमा योजनाको विरोध भइरहेको छ ।
जस्तो राजस्थान, बिहार र असम आदिमा यो योजनालाई लिएर युवाहरूले असन्तुष्टि जाहेर गरेका छन् । राजस्थानको राजधानी जयपुरमा युवाहरुले केन्द्र सरकारको यो योजनाको विरोध गर्दै सडक र राजमार्ग अवरुद्ध गरेका छन् ।
केन्द्र सरकारको ‘अग्निपथ योजना’ खारेज गर्नुपर्ने युवाहरुको माग छ । यो योजनाले देश सेवाको भावना बोकेका युवाको भविष्य अन्धकारमा जाने तिनले बताएका थिए । त्यस्तै बिहारको राजधानी पटनालगायत राज्यका बेगुसराय, बक्सर र मुजफ्फरपुरसम्म यस परियोजनाको विरोधमा प्रदर्शन भयो । असमका धेरै युवाहरूले पनि योजनालाई लिएर निराशा व्यक्त गरेका छन् ।
असन्तुष्ट युवाहरु सेनामा प्रवेश गरिसकेपछि चार वर्षमै फालिने व्यवस्थाप्रति असन्तुष्ट छन् । एजेन्सी