
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ ।
यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो ।
अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ ।
अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नजिकिँदै गर्दा महँगीका कारण राष्ट्रपति जो बाइडेन अलोकप्रिय बन्दै गएको र यसले डेमोक्रेटिक पार्टीको मतमा असर पर्ने अनुमानमाझ यस्तो कदम चालिएको प्रक्षेपण छ ।
अमेरिकामा पछिल्लो समय महँगी चार दशक यताकै उच्च ८.६ प्रतिशत पुगेपछि त्यसको असर आम मानिसले महसुस गर्न थालेका छन् ।
युक्रेनमाथि रुसी आक्रमणका कारण बढेको उर्जा मूल्यको असरबाट अमेरिका पनि अछुतो रहन सकेको छैन ।एजेन्सी