
क्यालिफोर्निया(अमेरिका) । अमेरिकी सब्सक्रिप्शन स्ट्रिमिङ सेवा नेटफ्लिक्सले लोकप्रिय काल्पनिक गेम सिरिज स्कुइड गेममा अधारित रियालिटी टिभी शो ल्याउँदैछ ।
यसका लागि कम्पनीले सहभागीहरु भर्ती गरिरहेको छ । दक्षिण कोरियाली ड्रामामा जस्तो यसमा हार बेहोर्ने सहभागीहरुले मृत्युवरण गर्ने छैनन् । उनीहरु शो छाडेर भने जानु पर्नेछ ।
विश्वभरबाट ४५६ जनालाई खेलाइने यो शोको पुरस्कार राशी ४५ लाख ६० हजार डलर रहेको छ । नेटफ्लिक्सले स्कुइड गेमको दोस्रो संस्करण पनि ल्याउने भएको छ । बुधवार कम्पनीले १० भागको स्कुइड गेम : द च्यालेञ्ज ल्याउने घोषणा गरेको थियो । यो टिभीको इतिहासमै सबैभन्दा धेरै सहभागी र पुरस्कार राशीको रियालिटी शो हुने बताइएको छ ।
मौलिक शोमा झैं यसमा पनि सहभागीहरुले विविध खेल खेल्नु पर्नेछ । रियालिटी शोमा थप कुराहरु पनि थपिने छन् । सहभागीको उमेर कम्तिमा २१ वर्ष हुनु पर्नेछ । उनीहरुलाई अंग्रेजी बोल्न आउनु पर्नेछ । यो शोको छायांकन सन् २०२३ को शुरुमा हुनेछ । छायांकन शुरु हुनुभन्दा चार हप्ता अगाडिदेखि नै सहभागीहरु तयार हुनु पर्नेछ । सिरिजमा झैं रियालिटी शोमा पनि सहभागीहरुलाई १ देखि ४५६ सम्म नम्वर दिइनेछ ।
कोेरियाली थ्रिलर सिरिजमा ऋणमा चुर्लुम्म डुबेका मानिसहरुले ठूलो राशीको पुरस्कारका लागि एक अर्कासँग प्रतिस्पर्धा गरेको देखाइन्छ । यो नेटफिल्क्सको अहिलेसम्मकै सबैभन्दा चर्चित सिरिज हो । यो लञ्च भएको पहिलो २८ दिनन ११ करोड १० लाख प्रयोगकर्ताले हेरेका थिए । स्कुइड गेमको पहिलो सिजन ल्याउन १२ वर्ष लागेको गएको सोमवार एक विज्ञप्तिमा यसका निर्देशक, लेखक र कार्यकारी निमार्ता हवाङ दोङ–ह्युकले बताएका थिए ।
तर यो १२ दिनमै नेटफ्लिक्सको सबैभन्दा चर्चित सिरिज बन्यो । पछिल्लो समय स्ट्रिमिङ बजारमा प्रतिस्पर्धा चर्किएको छ । सब्सक्राइबर भटाभट घटेपछि यसले मूल्य बढाएको थियो भने रुस छोड्दा पनि यसलाई ठूलो घाटा भएको थियो ।
नेटफ्लिक्सको सब्सक्राइबरमा उल्लेख्य कमी आउने र लाखौं सब्सक्राइबरले यसको स्ट्रिमिङ सेवा छाड्न सक्ने चेतावनी अप्रिलमा कम्पनीले दिएको थियो । एजेन्सी