पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौमा, नयाँ नेतृत्व चयन हुने

- पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच सहकार्यको सहमति

-


     नेपालय न्युज    
     जेठ २९ गते २०७९


पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।

संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना,औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ । असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।

पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच सहकार्यको सहमति
पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच पर्यटन र व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । दुबै उद्योग वाणिज्य संघले निजी क्षेत्रका साझा एजेण्डा तय गर्दै अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

जिल्ला नगर उद्योग वाणिज्य संघको अवलोकन भ्रमणको क्रममा आइतबार पोखरा आइपुगेको पाल्पा उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघबीच भएको अन्तक्र्रियाको क्रममा सो सहमति बनेको हो । पहाडकी रानी भनेर चिनिने पाल्पा र पर्यटनको राजधानी पोखराका व्यवसायीहरुबीचको सहकार्यले यो क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने अन्तक्र्रियाको निक्र्यौल छ ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्रलाई फुटाउने र मानमर्दन गर्ने प्रवृत्तिका विरुद्ध साझा अभियान चलाउनुपर्ने बताए । उनले आवश्यक पर्दा उद्योगी÷व्यवसायीहरुको साथ र सहयोग खोज्ने तर अरु बेला विभिन्न बहानामा दुःख दिने प्रशासनिक रवैया गलत भएको धारणा राखे । आर्थिक मुद्दाहरुमा जनप्रतिनिधिहरुसँग सहकार्य गर्न उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताउँदै उनले भने,‘नाकामा सामानको अनुगमन नगर्ने अनि बेला न कुबेला बजार अनुगमनको नाममा दुःख दिने प्रवृत्ति ठीक हैन । हामीले गरिखाने वातावरण माग गरेका हौँ,व्यवसायीले कर त तिरिहाल्ल्छन् ।’

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्योग वाणिज्य संघहरुले पूूर्वाधारदेखि आर्थिक उत्थानका विभिन्न कार्यमा ठूलो योगदान गरे पनि स्थानीय सरकारले त्यो भूमिकाको कदर नगरेको गुनासो गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघले पनि जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । नेपाल उद्योग वाणिज्य महासंघ ठूला घरानाको लागिमात्रै भएको उनको गुनासो थियो ।

पाल्पाका पूर्वअध्यक्ष तथा सल्लाहकार परिषदका संयोजक मधुदयाल सैंजुले व्यावसायिक वातावरण निर्माणको लागि स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने बताए । पाल्पाकै निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले सरकारले नागरिकलाई कर तिर्ने हैसियतको बनाउनुपर्ने र त्यसको लागि उद्यमशीलताको विकास गर्नुपर्ने तर्क गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले वर्षौँसम्म जनप्रतिनिधि नहुँदा उद्योग वाणिज्य संघहरुले खेलेको भूमिकाको कदर गर्न जनप्रतिनिधिहरुसँग आग्रह गरे । संघका महासचिव सुरेन्द्रमान विजुक्छेले राजनीतिक नेतृत्वले व्यावसायिक वातावरण निर्माणलाई मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com