
काठमाडौं । एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण बाक्लिएको छ । पछिल्लोपटक अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने नेपाल भ्रमणका क्रममा बिहीवार काठमाडौं आपुगेका छन्
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख फ्लिन नेपाल भ्रमणमा आउनुले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको अवसरमा उच्च तहमा विभिन्न उच्चपदस्थ पदाधिकारीहरुको भ्रमण हुनेकुरा दुवै देशले दाबी गर्दै आइरहेका छन् । दुवै देशका कूटनीतिक अधिकारीहरुले यो बीचमा दुवै देशका उच्चपदस्थ पदाधिकारीहरुको भ्रमणलाई विशेष चासोका साथ लिएका छन् ।
आगामी असारमा प्रधान सेनापति शर्मा र त्यसपछि प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने कार्यक्रम छ । अमेरिकी उच्चपदस्थ पदाधिकारीहरुको नेपाल भ्रमण र नेपाली उच्च पदस्थ पदाधिकारीहरुको अमेरिका भ्रमणको कुरा चलिरहेको सन्दर्भलाई त्रिभूवन विश्वविद्यालय, अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक खड्ग केसी भने नेपालको अन्तरराष्ट्रिय सम्बन्धमा केही बदलाव आएको बताउँछन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा बिहीवार उनले एमसीसीपछि नेपाल र अमेरिकीबीच भ्रमण बाक्लिँदै गएको र स्वभाविक रुपमा एमसीसी इन्डोप्यासिफिकको अंग होइन भनेपनि यसले रणनीतिक महत्व राखेको पुष्टि हुँदै गएको बताएका छन् ।
उनले एमसीसी विशुद्ध विकास परियोजना भएको भए यो तहको बाक्लो राजनीति अन्तरसम्बन्धको तहमा पुग्ने अवस्था नहुँदा पन फरक नपर्ने बताए । प्राध्यापक केसीले छिमेकसँगको सम्बन्ध नेपालको सुरक्षाको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने र त्यसपछि मात्रै समृद्धिको सपना देख्ने र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि घनिभुत बनाउने कुरा हुनुपर्ने बताए ।
उनले राष्ट्रिय सुरक्षाका हिसाबले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्न नहुने बताए । प्राध्यापक केसीले छिमेकीको चित्त दुखाएर टाढाको देशलाई सरकारले प्राथमिकतामा राख्छ भने त्यसलाई सरकारको बुद्धिमतायुक्त काम भन्न नसकिने जिकिर गरे । अमेरिका विश्व शक्ति भएकोले जुनकुनै देशमा जाने कुरा सामान्य भएपनि अमेरिकाबाट के ग्रहण गर्ने र नगर्ने भन्ने कुरा देशले स्वयं विचार गर्नुपर्ने उनको भनाइ छ ।
प्राध्यापक केसीले एमसीसीपछि इन्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढीरहेको बताए । उनले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताए ।
धेरै दलको गठबन्धन हुनु भनेको सरकार कमजोर हुनु रहेको भन्दै गठबन्धनमा सम्मिलित कुनै दलले कहिले सरकार छोड्ने हो भन्ने चिन्ता नेतृत्वलाई हुने गरेको बताए । प्राध्यापक केसीले नेपालको समकालीन राजनीतिक नेतृत्वहरु सत्ता केन्द्रित र बेइमानी भएपनि मुलुकलाई कुनैपनि सुरक्षा सम्झौतामा लगेर दुर्घटनामा पुर्याउन नसक्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पारे ।
उनले अमेरिकाबाट आर्थिक सहयोग, विज्ञान र प्रविधिका कुराहरु सिकेर अहिलेको जस्तै सम्बन्ध सुमधुर राख्नुपर्ने तर पछिल्ला भ्रमणका घटनाक्रम हेर्दा नेपालका राजनीतिक नेतृत्वहरु देशप्रति भन्दा विदेशी शक्तिप्रति ढल्किएको भान हुन थालेको बताए ।
प्राध्यापक केसीले सत्तारुढ दलका नेताले अमेरिकी उच्च पदस्थ व्यक्तिहरुको नेपाल भ्रमणलाई लिएर विशेष चासो र चिन्ता नगरेको बताए । एमसीसी पास भएपछि उच्च पदस्थ अमेरिकी पदाधिकारीको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आएकी थिइन् ।
त्यसअघि सिनेटर क्रिस्टन जिलिब्राण्डको नेतृत्वको सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथामध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल भ्रमण गरेका थिए । बिहीवार ४ दिने नेपाल भ्रमणका आएका प्रमुख चाल्र्स ए फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । आर्थिक अभियानबाट