मंकीपक्स प्रकोपको पूर्व तयारी, अमेरिकाले बढायो खोपको भण्डार

-


     नेपालय न्युज    
     जेठ १८ गते २०७९


मंक्कीपक्स संक्रमित बढ्ने क्रम नरोकिएपछि अमेरिकी आपतकालीन भण्डारणमा फूड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) द्वारा अनुमोदित दुईवटा खोप अध्यावधी गर्न सुरु गरिएको छ ।

अमेरिकाको खोप भण्डारणमा पहिलेदेखि विफरविरुद्ध प्रयोग भएको खोपको १० करोडभन्दा बढी डोजहरू छन् । तर यस खोपले मुटुको मासपेसी सुन्निने समस्या गराउँछ भने रोग प्रतिरोधात्मक समस्या भएका लगायत केही विरामीलाई यो खोप दिइनुहुँदैन । सन् २०१९ मा जीन्नेइयोस भनिने एउटा नयाँ खोप विफर र मंकीपक्स दुवैको रोकथाममा प्रयोग गर्न सकिने भनेर स्वीकृति भएको छ, जुन बढी विश्वसनीय मानिन्छ ।

मंकीपक्स भाइरसले मध्य तथा पश्चिम अफ्रिकामा समय समयमा प्रकोपको रुप लिने गर्छ । त्यस भेगबाट अन्यत्र समुदायस्तरमा हुने विस्तारलाई एकदमै असामान्य मानिन्छ । मंकीपक्स त्यति छिटो प्रसार नहुने भएकाले पनि वैज्ञानिकहरु त्यति चिन्तित नहुनुपर्ने बताइरहेका छन् ।

मानवमा मान्कीपक्स पहिलोपटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोको एक क्षेत्रमा ९ वर्षको बच्चामा पहिचान गरिएको थियो । बाँदरमा भने मानिसमा भन्दा पहिले नै सन् १९५८ मा अनुसन्धानका लागि राखिएको बाँदरमा यो भाइरस पत्ता लागेको थियो । बाँदरमा यो भाइरस मुसाबाट सर्ने गर्छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार मंकीपक्सप्रति सबैजना सचेत हुनुपर्ने बताएका छन् । र लगत्तै अर्को दिन संयुक्त राज्य अमेरिकासँग आफ्ना नागरिकलाई पुग्ने खोपको डोज रहेको उनले दाबी गरेका छन् । विज्ञले मंकीपक्सका लागि सबैलाई खोप दिन आवश्यक नरहेको बताइरहेका छन् ।त्यसको सट्टा तिनले संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरुलाई खोप लगाउन सिफारिस गरेका छन् ।

सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि, अमेरिकाले बिफर प्रयोग गरी आतंकवादी आक्रमण हुनसक्ने आशंकामा सम्पूर्ण जनसंख्यालाई खोप दिने विचार गरेको थियो । पछि धेरैलाई साइड इफेक्ट गर्ने सोचेर यो योजनाबाट अमेरिकी सरकार पछि हटेको थियो ।

जीन्नेइओसजस्ता नयाँ पुस्ताका खोपहरू ठूला समूहहरूलाई लगाउन सुरक्षित हुने सम्भावना छ । तथापि अहिलेको लागि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई खोप दिँदा पनि हुन्छ । अमेरिकाले मंकीपक्स रोकथाम गर्नका लागि खोपबाहेक पनि टेकोभिरिमेट नामक एन्टि–भाइरल चक्की २० लाख डोज किनेको छ । जुन संक्रमित भइसकेका बिफरको उपचारका लागि स्वीकृत गरिएको औषधी भएको सिडीसीले बतायो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com