बेलायतले ल्यायो नयाँ वर्क भिसा, आवेदन दिन जब अफर नै नचाहिने

-


     नेपालय न्युज    
     जेठ १८ गते २०७९


लन्डन (बेलायत) । बेलायतले नयाँ वर्क भिसा ल्याएको छ ।

विश्वका शीर्ष विश्वविद्यालयबाट पढेका विद्यार्थीहरुले अब बेलायत जाने नयाँ बाटो पाएका छन् । सरकारले विदेशी विश्वविद्यालयबाट स्नातक तह पूरा गरेका उच्च सिप भएका विद्यार्थीका लागि उच्च सम्भावनाका व्यक्ति (एचपीआई) भिसा ल्याएको छ ।

यसमा भिसाबाहकहरुले आफ्नो डिग्रीको स्तरअनुसार दुईदेखि तीन वर्षसम्म बस्ने अनुमति पाउनेछन् । यो खालको भिसाका लागि आवेदकसँग जब अफर वा प्रायोजक नभए पनि हुनेछ । यसलाई स्वरोजगार वा स्वयम्सेवकका रुपमा ल्याइएको हो ।

विश्वभरबाट उत्कृष्ट र प्रतिभाशाली व्यक्तिहरुलाई आकर्षित गर्नका लागि नयाँ रोमाञ्चक भिसा श्रेणी ल्याइएको संयुक्त विज्ञप्तिमा बेलायती अर्थमन्त्री ऋषी सुनाक र गृह मन्त्री प्रिती पाटेलले बताएका छन् ।

आवेदन स्वीकार भएका आवेदकहरुलाई दुई वर्षको वर्क भिसा दिइनेछ । विद्यावारिधी गरेकाहरुलाई भने तीन वर्षको भिसा दिइनेछ । यो भिसा श्रेणीमा योग्य हुनका लागि आवेदक विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट पढाई पूरा गरेको हुनु पर्नेछ ।

यो स्नातक वा विद्यावारिधी गरेको पाँच वर्षभित्र दिइनेछ । हरेक वर्ष सरकारले आफ्नो वेबसाइटमा यो भिसाका लागि योग्य विश्वविद्यालयहरुको नाम सार्वजनिक गर्नेछ । यो भिसा एक पटक मात्रै दिइने छ । ग्रयाजुएट भिसा पाइसकेकाहरुका लागि पनि एचपीआई भिसा उपलब्ध हुने छैन । मापदन्डहरु पूरा भएमा एचपीआई भिसाबाहकहरुले आफ्नो भिसालाई दीर्घकालीन रोजगारीसम्बन्धी अन्य भिसामा भने परिणत गर्न सक्नेछन् ।

गत वर्ष जुलाईमा मात्रै बेलायतले ग्रयाजुएट भिसा शुरु गरेको थियो । बेलायतले यूरोपेली संघ (ईयू) लाई छाडेपछि अध्यागमन प्रणालीमा शृङ्खलाबद्ध परिवर्तनको हिस्सा अन्तर्गत बेलायतले नयाँ भिसा श्रेणी शुरु गरेको छ ।

अप्रिलमा व्यवसाय विस्तारलाई सहज बनाउन ग्लोबल बिजनेश मोबिलिटी भिसा शुरु गरिएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com