
सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्याक डोर्सीले कम्पनीको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।
गत वर्षमात्रै उनले कम्पनीको सीईओबाट राजीनामा दिएका थिए ।गत वर्षको अन्त्यबाट कम्पनी प्रमुखको भूमिका छाडेका उनले पछिल्लो पटक कम्पनीको सञ्चालक समितिबाट समेत बाहिरिने निर्णय गरेका हुन् ।
उनले शुक्रवारदेखि लागू हुने गरी सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर) बाट राजीनामा दिएका हुन् । हुन त यसअघि पनि उनले कम्पनीबाट आफूलाई टाढा राख्ने कोसिस गर्दै आएका थिए ।
उनले कम्पनीको प्रमुखबाट राजीनामा दिंदा पनि सञ्चालक समितिबाट समेत राजीनामा दिने तयारी गरेका थिए । यसअघि पनि सन् २०२२ मा कम्पनीको शेयरधनीहरुको भेला नहुँदासम्म उनले कम्पनीको सञ्चालक समितिको सदस्यका रुपमा भने रहिरहने बताएका थिए ।
यद्यपि, विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख एलन मस्कले खरीद गर्ने निर्णय भएसँगै उनको यो पछिल्लो निर्णय सार्वजनिक भएको हो । उनको यो राजीनामा पहिलोपटक भने होइन ।
उनले यसअघि सन् २००९ मा कम्पनीको सीईओबाट राजीनामा दिएर स्क्वाएर नामक एक डिजिटल भुक्तानी कम्पनी स्थापना गरेका थिए । तर पछि सन् २०१५ मा उनी पुनः कम्पनी फर्किए र सीईओ बने ।
उनको राजीनामासँगै ट्वीटरको एउटा युग अन्त्य भएको पनि कतिपयले टिप्पणी गरेका छन् । ट्विटरका सह–संस्थापक समेत रहेका उनले आफ्नो राजीनामा सम्बन्धी थप जानकारीहरु भने दिएका छैनन् । एजेन्सी