पोखरा ५ को निर्णय: वडाको स्वास्थ्य सहरी केन्द्रमा ल्याब

-


     नेपालय न्युज    
     जेठ १२ गते २०७९


पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर पाँच रहेको सहरी स्वास्थ्य केन्द्रमा ल्याब स्थापना गरिने भएको छ । नव निर्वाचित वडाअध्यक्ष विष्णुप्रसाद बरालसहित सदस्यले पदभार ग्रहण गर्दै स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न ल्याब स्थापना गर्ने निर्णय गरिएको हो । ल्याब स्थापना गरी नागरिकलाई ल्याबबाट निशुल्क सेवा दिने व्यवस्था मिलाइने बरालले बताए ।

बरालका अनुसार पाँच नम्बर वडालाई सफा र सुन्दर बनाउन प्रस्र्याङ पार्क नजिकै सार्वजनिक शौंचालय निर्माण गर्ने अर्को निर्णय भएको छ । प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पुर्‍याउने संयन्त्र निर्माण गर्ने पनि वडाले निर्णय गरेको छ ।

पोखरा पाँचलाई बैंगचाको रुपमा चिनिने गरेको र त्यो पहिचान विस्तारै हराउँदै गएकाले पुरानो पहिचार्न जोगाउन २ हजार बिरुवा रोप्ने अभियान आज देखि नै सुरु गरिएको बरालले बताए । बरालका अनुसार बिहीबार ५ वटा बिरुवा रोपेर अभियान सुरु गरिएको हो । जनप्रतिनिधि संरक्षक रहने गरी दुई जना वडा भित्रका विपन्न तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति पनि उपलब्ध गराउने निर्णय वडाले गरेको छ ।

वडा नम्बर पाँचमा नेकपा एमालेले प्यानल नै जितेको छ । बरालले नेपाली कांग्रेसका प्रमोद कोइरालालाई ९ सय ७१ मतान्तरले पराजित गरेका हुन् । १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय बरालले २०५५ सालमा नेकपा एमालेको पार्टी सदस्य लिएका हुन् । २०५६ सालमा सूर्यचन्द्र विकास समाजको सदस्य भएर सामाजिक कार्यमा सक्रिय बराल २०६६ सालमा नेकपा एमाले वडा कमिटीको सदस्य बने ।

वडा कमिटीको उपाध्यक्ष हुँदै तीन कार्यकाल वडा कमिटीको अध्यक्ष हुनु भएका बराल वाराही माविको निवर्तमान अध्यक्ष, कञ्चन सहकारीको अध्यक्ष तथा लायन्स क्लब ३२५ के डिस्ट्रिक्टको एड्भाइजर छन् । स्थानीय तह निर्वाचन २०७४ मा वडाको चुनावी कमान्डर बनेका बरालले वडाध्यक्षमा धनबहादुर नेपालीसहित ४ सदस्य निर्वाचित भएपछि नै आफूले यो पटक वडाध्यक्ष बन्ने योजनाका साथ काम गरेको बताए ।

‘पाँच वर्ष अघिदेखि नै वडाध्यक्ष भएर जनताको सेवा गर्ने आकांक्षा राखेको थिएँ’, बरालले भने, ‘सोही अनुसार काम पनि गरे र वडावासीले पनि मलाई विश्वास गरेर जिताउन भयो, उनीहरुको विश्वासलाई डगमगाउन दिने छैन ।’ वडाको भूगोल र विशेषता अनुसार नै नमुना वडा बनाउन विगतमा सुरु भएका कामलाई निरन्तरा दिँदै थप योजना बनाउने बरालले भने ।

WP2Social Auto Publish Powered By : XYZScripts.com