
पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी निवास छाड्नु भएको छ ।
नव निर्वाचित मेयर धनराज आचार्यले सपथग्रहणसहित पदभार ग्रहण गर्ने अघिल्लो दिन बुधबार मेयर जिसीले सरकारी निवास छाड्नु भएको हो । नवनिर्वाचित मेयर आचार्यले बिहीबार सपथग्रहण गरेर जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ ।
महानगरले पोखरा १२ ढिकालेथरमा व्यवस्था गरेको सरकारी निवास छाडेर जिसी फूलबारीस्थित डेरामा सर्नुु भएको हो । मेयरमा निर्वाचित हुनु भन्दा अगाडि जिसी फूलबारीमै भाडामा बस्दै आउनु भएको थियो भने मेयरको कार्यकाल सकिएपछि फूलबारीमै कोठा भाडामा लिएर सर्नुु भएको हो ।
मेयर जिसीले गत वैशाख ३० गते भएको निर्वाचनबाट पोखरा महानगरमा निर्वाचित मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, निर्वाचित वडाध्यक्षसहित सबै सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिनु भएको छ । जिसीले सामाजिक सञ्जालमार्फत् बधाई र सफल कार्यकालको शुभकामना दिनु भएको हो ।
महानगरमा निर्वाचित भएर आएको नयाँ टिमको सुन्दर र समृद्ध पोखरा बनाउने योजनामा जहिले पनि सकारात्मक र रचनात्मक सहयोग रहने जिसीले बताउनु भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो ।