अझै ४ ओटा पालिकाको निर्वाचन परिणाम आउन बाँकी, नेपाली काँग्रेस अग्रस्थानमा

-


     नेपालय न्युज    
     जेठ ११ गते २०७९


काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको बुधवार १२ दिन पुगेको छ ।

निर्वाचन आयोगका अनुसार अझै चार ओटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।

रौटहटको गरुडा नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ तर निर्वाचन आयोगले घोषणा गरिसकेको छैन । उक्त नगरपालिकाको मेयरमा नेकपा(एमाले) का उम्मेदवार कन्थमणि प्रसाद जयसवाल विजयी भएका छन् । यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी पुनम चौधरी विजयी भएकी छन् ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा भने अझै मतगणना शुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा रहेका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेकी छन् ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले) का सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गरेकी छन् भने नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा साह र उपप्रमुखमा डंगोलको विजय सुनिश्चित रहेको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेकपा(एकीकृत समाजवादी) का बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेकी छन् ।

रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । नेकपा(एमाले) का विजय यादव २ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका अमवेया खातुनले ४ हजार २५१ मत र नेकपा(एमाले) का कान्ती देवीले ३ हजार २७० मत प्राप्त गरेकी छन् ।

सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस १३८ ओटा नगरपालिका र १८८ अध्यक्षसहित ३२६ ओटा स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । त्यस्तै नेकपा(एमाले) ८१ ओटा नगरपालिका र १२३ ओटा गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । त्यस्तै नेकपा(माओवादी केन्द्र) २५ ओटा नगरपालिका र ९६ ओटा गाउँपालिका गरी १२१ ओटा स्थानीय तहमा विजयी भएको छ ।

अवको केहि दिनमा नै सवै पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसक्ने निर्वाचन आयोगले बताएको छ । अभियान

WP2Social Auto Publish Powered By : XYZScripts.com