कर्मचारीलाई ६ महीनाको तलब दिएर रुसबाट बाहिरिँदै अमेरिकी बहुराष्ट्रिय कम्पनी स्टारबक्स

-


     नेपालय न्युज    
     जेठ १० गते २०७९


मस्को (रुस) । अमेरिकी बहुराष्ट्रिय कफी चेन कम्पनी स्टारबक्सले रुस छाड्दैछ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि पछिल्लो समय पश्चिमी कम्पनीहरुमाझ रुसी व्यवसायबाट बाहिरने ट्रेन्ड नै चलेको छ । यसमा स्टारबक्स पनि थपिएको छ ।

रुसमा व्यवसाय शुरु गरेको १५ वर्षपछि कम्पनीले त्यहाँबाट बाहिरिने निर्णय गरेको हो । मार्चदेखि नै कम्पनीले कारोबार ठप्प बनाएर बसेको थियो ।

अब भने यो रुसी बजारबाट पूर्ण रुपमा बाहिरनेछ । कम्पनीले रुसमा रहेका आफ्ना कफी चेनमा कार्यरत करीब २ हजार कर्मचारीलाई ६ महीनासम्म निरन्तर तलब चाँहि दिनेछ । केही समय अघि मात्रै म्याक्डोनल्ड र रेनोले पनि रुसबाट स्थायी रुपमै बाहिरिने निर्णय गरेका थिए ।

युक्रेनमाथि आक्रमणको प्रतिकार गर्दै रुसलाई आर्थिक रुपमा एक्ल्याउन विविध खालका प्रतिबन्धको घोषणा गरिएका छन् भने विश्वको वित्तीय प्रणालीबाट पनि यसलाई एक्ल्याइएको छ ।

यसका कारण पश्चिमी कम्पनीहरुलाई रुसमा व्यवसाय सञ्चालन गर्न गाह्रो भइरहेको छ । स्टारबक्स सन् २००७ मा रुस छिरेको थियो । त्यहाँ यसका १३० ओटा कफी शप थिए । कम्पनीले मार्चमा नै रुस ढुवानी बन्द गरेको थियो ।

अब भने त्यहँको बजारबाट बाहिरिने निर्णय गरेको छ । यस निर्णयले कम्पनीमाथि पर्ने प्रभावबारे स्टारबक्सले केही पनि भनेको छैन । स्टारबक्स बाहिर नयाँ अवसरको खोजी कार्यमा सघाउन कर्मचारीहरुलाई ६ महीनासम्म तलब भने खुवाउने बताइएको छ ।

स्टोर बेच्ने वा यसलाई नयाँ ब्रान्डको नाममा खोल्ने बारे पनि केही बताइएको छैन । गत हप्ता म्याकडोनल्ड्जले पनि रुसमा रहेका करीब ८५० ओटा रेष्टुराँ रुसी व्यवसायी अलेक्जान्दर गोभोरलाई बेच्ने बताएको थियो ।

रुसमा आफ्नो व्यवसायको राष्ट्रियकरण गरिएको र यसलाई सरकारी कम्पनीहरुले चलाउने यो महीनाको शुरुमा रेनोले बताएको थियो । पश्चिमी कम्पनीहरु एक पछि अर्को गर्दै रुसबाट बाहिरिरहेका छन् । यसका कारण मस्कोमा मात्रै करीब २ लाख मानिसले रोजगारी गुमाउने खतरा रहेको मस्कोका मेयरले गत महीना बताएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com