
सागर न्यौपाने ।
दोस्रो पटकको संविधान सभा चुनावमा कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रलाई कमजोर बनाउँदै तत्कालीन प्रदेश ३ मा नेपाली कांग्रेस पहिलो पार्टी बन्यो।
तर, संविधान जारी भएपछि २०७४ को स्थानीय तह निर्वाचनमा त्यही प्रदेश ३ मा एमालेले कांग्रेसलाई पहिलो पार्टीबाट दोस्रो बनाइदियो।
कांग्रेसलाई पहिलोबाट दोस्रोमा झार्न सक्नु नै एमालेको सफलता थियो।
१३ जिल्ला रहेको अहिलेको बागमती प्रदेशमा तीन महानगर र एक उपमहानगरसहित ११९ स्थानीय तह छन्।
यहाँ काठमाडौं महानगर र हेटौंडा उपमहानगर सहित एमालेले त्यसबेला ६४ तह जितेको थियो । जिल्लागत आधारमा हेर्दा १० जिल्लामा एमालेले कब्जा जमाएको थियो।
धादिङमा ८, मकवानपुरमा ६ तह जितेको एमालेले सिन्धुली ३, रामेछाप ५, दोलखा ७, सिन्धुपाल्चोक ७, काभ्रे ७, रसुवा २, नुवाकोट ३ वटा तह पनि जित्यो।
चितवनमा भरतपुर महानगरबाहेक ४ स्थानीय तह जितेर एमालेले १० जिल्लामा बहुमत ल्याएको थियो। काठमाडौं महानगरसहित ७ स्थानीय तह त्यसबेला एमालेले जितेको थियो।
यस्तै, भक्तपुरमा ३ नगरपालिका जितेर एमाले पहिलो पार्टी बन्यो। ललितपुरमा पनि २ स्थानीय तह जित्यो। तर, पाँच वर्षपछि भएको दोस्रो पटकको स्थानीय तह निर्वाचनमा एमालेले बनाएको विरासत भत्किएको छ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मतगणना जारी भइरहेको स्थानीय तहमध्ये एमालेले रामेछापमा उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिकामा अग्रता, दोलखाका जिरी नगरपालिका, मेलुङ गाउँपालिकामा अग्रता, सिन्धुलीमा गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिका, रसुवामा उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिका एमालेले जितेको छ।
यस्तै धादिङमा गल्छी गाउँपालिका जितेको एमालेले थाक्रे गाउँपालिकामा पनि जित निकालेको छ।
एमालेले नुवाकोटमा किस्पाङ गाउँपालिका मात्रै जितेको छ। काठमाडौंमा टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिका जितेको छ।
सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिका मात्र जितेको छ। मकवानपुरमा इन्द्रसरोवर र भीमफेदी गाउँपालिका जितेको एमालेले चितवनमा माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका जितेको छ। भरतपुर महानगरको मतगणना जारी छ। तर त्यहाँ ठूलो मतान्तरसहित एमाले पछाडि छ।
ललितपुरको महालक्ष्मी नगरपालिका र कोञ्ज्योसोम गाउँपालिका समेत गरेर एमालेले अहिलेसम्म बागमती प्रदेशका २२ तहको प्रमुख जितेको छ।
कुन जिल्लामा कति?
मकवानपुर २
चितवन ३
सिन्धुपाल्चोक ३
काभ्रेपलाञ्चोक १
भक्तपुर १
काठमाडौं २
ललितपुर २
नुवाकोट १
धादिङ २
सिन्धुली २
रसुवा २
रामेछाप ३
दोलखा २
मतगणना भएका पालिकाहरुमध्ये सिन्धुपाल्चोकमा १, काभ्रेमा २, चितवनमा १, दोलखामा २, ललितपुरमा १ र काठमाडौंमा १ तहको अन्तिम परिणाम आउन बाँकी छ।
अन्तिम परिणाम सार्वजनिक नभएसम्म एमालेले कति तह जित्छ भन्न कठिन भए पनि अघिल्लो पटक भन्दा आधा कम मात्र जित्ने सम्भावना बढ्दै गएको छ।
यी हुन् एमालेले धोका पाएका जिल्ला–
कुनकुन जिल्लामा गुमायो एमालेले?
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले धादिङ, काठमाडौं, मकवानपुर, सिन्धुपाल्चोक र चितवन, दोलखा र रामेछाप गरी ७ जिल्लामा ४० तह जितेको थियो।
तर, पाँच वर्षपछि भएको स्थानीय तहकै निर्वाचनमा एमालेले ती जिल्लामध्ये काठमाडौं २, मकवानपुरबाट २, चितवन ३, रसुवा २, दोलखा २, रामेछापबाट ३, नुवाकोट १, धादिङ १, काभ्रेबाट १ पालिका मात्रै जितेको छ।
यस्तै भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेका वासुदेव थापाले जितिसकेका छन्।
तर समग्र प्रदेशभर मतपरिणाम सन्तोषजनक नभएको विश्लेषण एमालेले गरेको छ।
स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले अपेक्षा गरेअनुसार नतिजा नआएको बताए।
‘हामीले पहिलाको भन्दा (६४) बाट केही बढेर ७० तह जित्ने प्रक्षेपण गरेका थियौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘पहिलाको संख्या कायम गर्ने नभए घट्न नदिने योजना पनि सफल भएन।’
‘घेराबन्दी र टोटल शक्ति लागेर मोर्चाबन्दी गर्दा पनि हामीले पाएको परिणाम महत्वपूर्ण छ,’ अधिकारीले थपे। चुनावी नतिजाको छिट्टै समीक्षा गर्ने उनले बताए। नेपालखबरबाट