पाकिस्तानले अत्यावश्यकबाहेकका वस्तु आयातमा रोक लगायो, मोबाइल, गाडी र कस्मेटिक आयात बन्द

-


     नेपालय न्युज    
     जेठ ६ गते २०७९


कराँची (पाकिस्तान) । पाकिस्तानले अत्यावश्यक बाहेकका सामाग्रीहरुको आयातमा रोक लगाएको छ । त्यहाँका सूचना मन्त्रीले बिहीवार यस्तो बताएका हुन् ।

चालू खाता घाटा अनियन्त्रित बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गइरहेको र घरेलु मुद्रा रुपयाको भाउ ऐतिहासिक न्यून स्तरमा आएको अवस्थामा अर्थतन्त्रलाई स्थिर बनाउन सो कदम चालिएको बताइएको छ ।

आयात रोक्का भएका सामान तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यो सूचिमा कार, सेलुलर फोन, होम अप्लायन्सेज र कस्मेटिक आदि छन् । यी सामानहरुको आयातमा पूर्णतः रोक लगाइने मन्त्री मरियम औंरंगजेबले बताएकी छिन् ।

आयात प्रतिबन्ध कहिलेसम्म लागू हुनेछ भनेर बताइएको छैन । यद्यपि, अन्य खालका उपायहरुसहित यसले गम्भीर अवस्थामा पुगेको विदेशी विनिमय सञ्चितिलाई केही भए पनि टेवा मिल्ने अपेक्षा गरिएको औरंगजेबको भनाइ छ । सरकारले आर्थिक संकटको निकासका लागि अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । आयात प्रतिबन्धले वार्षिक रुपमा ६ अर्ब डलर बचत हुने अपेक्षा गरिएको छ ।

पछिल्लो प्रतिबन्धले इन्धन र खानेतेल तथा अन्नको आयात भने प्रभावित हुने छैन । पछिल्लो समय पाकिस्तानको विदेशी विनिमय सञ्चिति तीव्र दरमा घटिरहेको छ । फेब्रुअरीको अन्त्यमा १६ अर्ब ३० करोड डलर रहेको विनिमय सञ्चिति घटेर ६ अर्ब डलरमा झरेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com