वाशिङटन डीसी (अमेरिका) । अमेरिकी स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्सले कर्मचारी कटौती गरेको छ । एक दशकमा पहिलो पटक सब्सक्राइबर गुमाउन थालेपछि कम्पनीले अमेरिकामा झन्डै १५ जना कर्मचारीलाई कामबाट निकाल्न थालेको हो ।
यो निर्णयबाट मुख्यतः क्यालिफोनिर्यामा रहेको कार्यालयका कर्मचारी प्रभावित हुनेछन् । कम्पनीको आम्दानीमा आएको कमीतर्फ औंल्याउँदै नेटफ्लिक्सले यो कदम चालेको हो ।
कर्मचारीहरुको व्यक्तिगत प्रदर्शन भन्दा पनि कम्पनीको व्यवसायका आवश्यकताका कारण यो परिवर्तन गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको छ । कुन क्षेत्रबाट कर्मचारी कटौती हुनेछ भन्ने चाँहि कम्पनीले खुलाएको छैन ।
यद्यपि, यसबाट मानव संसाधन, सञ्चार र कन्टेन्ट विभाग प्रभावित हुन सक्ने भन्दै लस एञ्जलस टाइम्सले समाचार छापेको छ । केही कर्मचारीहरुले आफ्नो जागिर गुमेको कुरा अनलाइनबाट सार्वजनिक गरिरहेका छन् । यस वर्षको पहिलो तीन महीनामा कम्पनीले करीब २ लाख सब्सक्राइबर गुमेको बताएको थियो । आगामी त्रैमासमा अर्को २० लाख सब्सक्राइबरले नेटफ्लिक्स छाड्ने चेतावनी दिइएको छ ।
यो खबर सार्वजनिक भएपछि एक दिनमै कम्पनीको शेयरमूल्य ३५ प्रतिशतले घटेको थियो । अहिले कम्पनीको शेयरमूल्य प्रतिकित्ता १९० डलर आसपास छ । यो यस अघिको कीर्तिमानी उचाईभन्दा ४६ प्रतिशत तल हो । विश्वभर नेटफ्लिक्सको २२ करोड सब्सक्राइबर छन् ।
स्ट्रिमिङ बजारमा यो सबैभन्दा अगाडि छ । तर पछिल्लो समय डिज्नी प्लस, एचबीओ र एमाजनको प्राइम भिडियो लगायत मञ्चबाट नेटफ्लिक्सले चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । एजेन्सी