
काठमाडौं । सोमवार बेलुका ८ बजेसम्म १७६ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले नेकपा (एमाले) सँगको दूरी बढाएको छ भने माओवादीले एमालेसँगको दूरी घटाएको छ ।
सार्वजनिक नतिजामा नेपाली कांग्रेसले सर्वाधिक ८३ स्थानीय तहमा जित निकाल्दा नेकपा (एमाले) ले ५४ स्थानीय तहमा मात्रै जित निकालेको छ । ६ बजेसम्म एमाले भन्दा कांग्रेसले १७ स्थानीय तह मात्रै बढी जितेकोमा ८ बजेसम्म आइपुग्दा अग्रता फराकिलो बनाएको छ । अहिले कांग्रेसले एमालेको भन्दा २९ स्थानीय तह बढी जितेको छ ।
त्यस्तै माओवादी केन्द्रले पनि एमालेसँगको अन्तर कम गरेको छ । अहिलेसम्म माओवादीले ३७ स्थानीय तहमा जित हात पारेको छ । माओवादीभन्दा एमालेले १७ स्थानीय तह मात्रै बढी जितेको छ । यसअघि माओवादीभन्दा एमालेले १८ स्थानीय तह बढी जितेको थियो ।
नेकपा(एकीकृत समाजवादी) ले भने निर्विरोध निर्वाचित २ स्थानीय तह बाहेक अरू स्थानीय तहमा जित हात पार्न सकेको छैन ।
मतगणना जारी भएका स्थानीय तहमध्ये कांग्रेसले २२६ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १४१ स्थानीय तहमा अग्रता लिंदा माओवादी केन्द्रले ८७ स्थानीय तहमा अग्रता लिएको छ ।
जसपा ३२, एकीकृत समाजवादी १७ र लोसपाले १४ स्थानीय तहमा अग्रता लिएका छन् ।अभियानबाट