
पोखरा ।
नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले आर्थिक सम्बृद्धि र विकासका लागि काँग्रेसले जित्नुपर्ने बताएका छन् । आसन्न चुनावमा नेपाली काँग्रेसले जित्न नसकेको खण्डमा देश अझै पछाडि धकेलिने उनले बताए ।
मंगलबार माछापुच्छ«े गाउँपालिकाको लाहाचोकमा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसले नजिते प्रतिगमन हुने खतरा निकै बढि रहेको बताए । ‘यो पटक काँग्रेसलाई जिताउनु भनेको पुरै देशलाई जिताउनु हो । यो व्यवस्थालाई जिताउनु हो ।’ परियारले भने–‘त्यसैले काँग्रेसकै उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउनुहुन म मतदाताहरुसँग अनुरोध गर्दछु ।’
माछापुच्छ«े गाउँपालिकामा यो पटक काँग्रेसको तर्फबाट मीनबहादुर गुरुङ अध्यक्षको उम्मेदवार छन् । त्यस्तै उपाध्यक्षमा सिता अधिकारी प्रत्यासी छिन् । मंगलबार आयोजिता अन्तिम चुनावी आमसभामा बोल्दै उनीहरुले समग्र गाउँपालिकाको व्यवस्थापन र विकासका लागि आफूहरुलाई जिताउन मतदाताहरुसमक्ष आग्रह गरे । मंगलबार भएको कार्यक्रममा गाउँपालिकका सम्पूर्ण वडाका नेपाली काँग्रेसका उम्मेदवारहरु सहभागी थिए ।
त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि चुनावी घरदैलो सकिएको नेपाली काँग्रेसले जनाएको छ । ‘हामीले घरदैलो सक्यौँ । र, धेरै ठाऊँमा हामीले काँग्रेसको समर्थनमा जनमत बढेको पायौँ । यो पटक अघिल्लो चुनाव भन्दा पनि बढि मतान्तरले हामीले जित निकाल्छौँ ।’ नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका युवराज कुँवरले भने ।
त्यस्तै कास्कीको रुपा गाउँपालिकामा पनि गिमाया गुरुङसहितको टोलीले घरदैलो र चुनावी अभियान सकिएको बताएको छ । ‘नेपाली काँग्रेसको पक्षमा बलियो आधार बनेको छ । जनताले समावेशी रुपमा विकास गर्न नसकेको भन्दै अघिल्लो पटक निर्वाचित एमालेका जनप्रतिनीधिहरुको विरोध गरेको हामीले पायौँ । त्यसैले यो पटक काँग्रेसको पक्षमा धेरै मत आउने हाम्रो विश्वास छ ।’ अध्यक्ष उम्मेदवार गिमाया गुरुङले भनिन् ।
उता कास्कीकै मादी गाउँपालिकामा पनि चुनावी घरदैलो अभियान सकिएको अध्यक्ष उम्मेदवार देवीजंग गुरुङले जानकारी दिए । भौगोलिक रुपमा धेरै हिँडडुल गर्न पाएपनि जनतासँग प्रत्यक्ष साक्षात्कार गरि उनीहरुको कुरा सुन्न पाउँदा आफू निकै खुशी भएको उनले बताए । ‘जनताले पनि आफ्नो समस्या बुझ्ने र आफ्नो ठाऊँको लागि सोँच्ने व्यक्ति निर्वाचित गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।’ देवीजंगले भने–‘पाहुना उम्मेदवारलाई गाउँपालिकामा निर्वाचित गर्न नसकिने धेरै मतदाताहरुले बताएका छन् ।’
नेपाली काँग्रेस कास्कीले यो पटक कास्कीको ४ वटै गाउँपालिकामा आफ्ना उम्मेदवारहरु निर्वाचित हुने दाबी गरेको छ । मतदाताहरुसँगको भेटघाट र घरदैलोमा उनीहरुले दिएको समर्थनले काँग्रेस र गठबन्धनको पक्षमा बढि मत आउने आँकलन काँग्रेसले गरेको हो ।