
पोखरा ।
नेपाली काँग्रेसले एकल र गठबन्धनसँग सँयुक्त उम्मेदवारी दिएको पोखरा महानगरको ३३ वटै वडामा घरदैलो कार्यक्रम करिब सकिएको जानकारी दिएको छ । घरदैलोसँगै पार्टीले प्रत्येक वडामा मतदाता शिक्षा पनि सँगसँगै अगाडि बढाईरहेको छ ।
‘हामी करिब अन्तिम चरणमा पुगिसक्यौँ । उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागिसकेका छन् । र, उनीहरुले उम्मेदवारहरुलाई भोट हाल्ने तरिका पनि सिकाईरहेका छन् ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘अब पार्टीले कोर मतदाताहरुसँग भित्रभित्रै आफ्नो पक्षमा माहौल बनाउन वडैपिच्छे टोली खटाईसकेको छ ।’
यसैक्रममा पोखरा महानगरपालिका वडा नं ११ मा घरदैलो कार्यक्रम सम्पन्न पश्चात समुदाय भेटघाट तथा छलफल कार्यक्रम संचालन भईरहेको इकाई सभापति हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।
समुदाय भेटघाट कार्यक्रम अन्तर्गत वडा भित्र रहेको गुरुङ, पून, मगरलगायत समुदायमा पुगेको बाँस्तोलाले बताए । टोल कार्य समितिहरुसंगको छलफलका साथै विभिन्न समूह र क्लबहरुसंग भेटघाट जारी राखेको वडा सदस्य पदका उम्मेदवार रनसुवा गुरुङले जानकारी दिईन् ।
नेपाली काँग्रेसको तर्फबाट प्रेमप्रसाद कर्माचार्यको नेतृत्वमा वडा सदस्य पदका उम्मेदवारहरु रनसुवा गुरुङ, विष्णुप्रसाद घिमिरे, शुसिल बाँस्तोला र टुकुरादेवी परियार चुनावी मैदानमा रहेका छन् ।
उता पोखरा १७ मा पनि देवराज आचार्यसहितको उम्मेदवारको टोलीले घरदैलो अभियानलाई करिब सकिएको बताएको छ । एमालेले आफ्नो गढ मान्दै आएको पोखरा १७ मा यो पटक काँग्रेस र गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएको आचार्य दाबी गर्छन् । ‘घरदैलोमा जाँदा यसअघि निर्वाचित एमालेका जनप्रतिनीधिहरुसँग जनता निकै रुष्ट भएको हामीले पायौँ ।’ आचार्यले भने–‘यो पटक काँग्रेस र गठबन्धनको सँयुक्त युवाहरुको उम्मेदवारीलाई लिएर वडाबासीहरु निकै उत्साहित हुनभएकोले जित हाम्र्रै पोल्टामा आउने निश्चित छ ।’
यसैगरी वडा नं १२ मा पनि चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रम सकिएपछि व्यक्तिगत रुपमा भेटघाट तथा छलफल संचालन गरीरहेको ईकाई सभापति एवम् वडाध्यक्षका उम्मेदवार सन्तोष बाँस्तोलाले जानकारी दिए ।
सरकारी जग्गा संरक्षण, मठमन्दिर संरक्षण तथा बाटोघाटो निर्माण एवम् ममैत संभार जस्ता विकासका मुल एजेन्डा लिएर मतदाता समक्ष पुगीरहेको नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार समेत रहेका बाँस्तोलाले बताए ।
यसैगरी वडा नं १३ मा पनि निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रम सकाएर भेटघाट तथा छलफलमा व्यस्त बनेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका किरण बरालको टिम युवालाई स्वरोजगार, पिछडिएका वर्गको उत्थान, विजयपुर र काँहुखोलामा तटबन्ध निर्माण गर्र्ने तथा विजयपुर कोटलाई पर्यटकीय स्थल बनाउने लगायतका मुल एजेन्डा लिएर मतदाता समक्ष पुगीरहेको काँग्रेस इकाई सभापति माधवप्रसाद सिग्देलले जानकारी दिए ।
नेपाली काँग्रेसको तर्फबाट किरण बरालको नेतृत्वमा वडा सदस्यमा रजनी परियार, सुचिता तामाङ, बलबहादुर बराल, सरिफ अलिमियाँ उम्मेदवार रहेका छन् ।
यसैबीच वडा नं १४ पनि घरदैलो कार्यक्रम सम्पन्न गरी व्यक्तिगत तथा संस्थागत भेटघाटमा जुटेको छ । नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका बोधराज कार्कीलगायतका उम्मेदवारहरु भेटघाट तथा छलफलमा जुटेका हुन् ।
वडाको विकासमा मात्र होइन सुशासन कायम गर्न र न्यायको पक्षमा वकालत गर्न आफ्नो नेतृत्वले गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता सहित उम्मेदवारहरु घर घरमा पुगीरहेका छन् ।
बोधराज कार्कीको नेतृत्वमा वडा सदस्य पदका लागि माओवादी केन्द्रका शिव कँडेल र नेपाली काँग्रेसबाट तनुजा सार्की थापा, दिलमाया गुरुङ, कृष्णहरी काफ्ले चुनावी मैदानमा छन् ।
यसैगरी वडा नं १५ ले पनि घरदैलो कार्यक्रम सम्पन्न गरी चुनावी अभियान अन्तर्गत भेटघाट कार्यक्रमलाई जारी राखेको छ । सोमबार विभिन्न समुह तथा घर घरमा भेटघाट कार्यक्रम जारी राखेको नेपाली काँग्रेस वडा इकाई सचिव प्रितम गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार मंगलबार गठबन्धन दलका उम्मेदवारसहित चोक चोकमा र्याली तथा कोणसभाको आयोजना गरिनेछ ।
वडा नं १५ मा नेपाली काँग्रेसका मिनबहादुर गिरीको नेतृत्वमा नेकपा एसबाट माया शर्मा मिना, जसपाबाट नरेश थापा, माओवादी केन्द्रबाट महेश बाँनिया र लक्ष्मी परियार उम्मेदवार रहेका छन् ।
उता वडा नं १६ मा पनि निर्वाचनको दिन नजिकिदै गर्दा घरदैलो अभियान सम्पन्न पश्चात सोमबार नेपाली काँग्रेसको तर्फबाट महिलाहरुलाई नमुना मतदान प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो ।
संयुक्त निर्वाचन परिचालन कमिटी पोखरा १६ का संयोजक पदमसिंह गुरूङ्गको संयोजकत्वमा उप प्राध्यापक राजेन्द्रबहादुर देवकोटा र अधिवक्ताद्वय हरि भट्टराई एवं शालिकराम भट्टराईले प्रशिषण दिएका थिए ।
यसैगरी यही वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं १९ मा संचालन गरिएको चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रम सोमबार सम्पन्न भएको छ । टोल टोलमा पुगी मतदाताको घरदैलो गरी मत माग्ने तथा मतदाताको समस्या सुन्ने काम भएको उम्मेदवारहरुले बताएका छन् ।
भौगोलिक विकटताका कारण वडाबासीले भोग्नु परेको उच्च शिक्षा समस्या, स्वास्थ्य तथा गरिवी निवरण जस्ता एजेण्डाहरु लिएर उम्मेदवार मतदाता समक्ष पुगीरहेको बाँस्तोलाले बताए ।
वडा नं १९ मा नेपाली काँग्रेसका पुष्पेन्द्र पाण्डेको नेतृत्वमा देवु आचार्य, दिपक बाँस्तोला र नेकपा एसबाट बिजुला परियार अनिता र माओवादी केन्द्रबाट सविन जि सी उम्मेदवार रहेका छन् ।
उता पोखरा महानगरको वडा नं २१ मा घरदैलो कार्यक्रम जारी छ । सोमबार मात्रै रामादी, भालडाँडा, एकहाते, मट्टीखान, ढ्वाँरकोट, मुलाबारी र भिरस्वाँरामा घरदैलो कार्यक्रम सम्पन्न भएको काँग्रेस इकाई सभापति केवल गिरीले जानकारी दिए । केही दिन भित्रै घरदैलो कार्यक्रम सकिने सभापति गिरीले बताए ।
खानेपानी र पीच बाटोको निर्माण वडाको मूल एजेण्डा रहेको बताउँदै वडाबासीले नगदेबालीको रुपमा अंगाल्दै आएको सुन्तला खेतीलाई वैज्ञानीकिकरण गरी सुन्तला ‘हब’को रुपमा विकसित गराउनुपर्ने वडाबासीको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि उम्मेदवाहरुले जनाएका छन् ।
वडा नं २१ मा पाँचदलीय गठबन्धनबाट विगतमा दुई कार्यकाल गाँउ विकास समिति अध्यक्ष भईसकेका पूर्णबहादुर थापा अध्यक्ष पदका उम्मेदवार बनेका छन् । नेकपा एसबाट उम्मेदवार बनेका थापा लगायत सदस्य पदका लागि नेकपा एसबाटै नारायाणबहादुर केसी, काँग्रेसबाट मञ्जु विक र लालबहादुर ठकुरी, माओवादी केन्द्रबाट देवी माया अधिकारी उम्मेदवार रहेका छन् ।
त्यस्तै उता वडा नम्बर २६ मा पनि घरदैलो अभियान करिब सकिएको छ । सोमबार सो वडामा महानगरको मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार कोपिला रानाभाट समेत पुगेका थिए । उनीहरुले समग्र पोखरासँगै पोखरा २६ को विकासमा पनि समानुपातिक ढंगले महानगरले काम गर्ने आफूहरुको गुरुयोजना रहेको सुनाए ।
विभिन्न स्थानमा सम्पन्न चुनावी सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापा, वडा नं २७ का वडाध्यक्ष पदका उम्मेदवार पूर्णकुमार गुरुङ, वडा नं २९ का वडाध्यक्ष पदका उम्मेदवार सुदेव गुरुङले आ–आफ्नो चुनावी एजेण्डका बारेमा स्पष्ट पार्नुका साथै हरेक समय वडाबासीको सेवामा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरि वडा नम्बर २८ को घरदैलो कार्यक्रमलाई पनि त्यहाँको चुनाव प्रचार कमिटि र उम्मेदवारहरुले अन्तिम चरणतर्फ लगेका छन् ।
घरदैलो कार्यक्रम अन्तरगत सोमबार साविक कालिका गाविस अन्तरगत बिमिरापानीमा गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुले यसपटकको भोट कांग्रेस सहितका गठबन्धन उम्मेदवारलाई दिने बाचा गरेका थिए ।
कार्यक्रममा मतदाताहरुलाई नेपाली कांग्रेसबाट पोखरा २८ का वडा अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले बिमीरापानीसंग आफ्नो भावानात्मक सम्वन्ध रहेको बताउदै निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने वाचा गरे ।
घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरु डाल्डादेवी भुजेल,ईन्द्रकला बि.क, कमल थापा र नारायण बजगाईले मतदाता समक्ष लोकतन्त्रको रक्षाको लागि पनि कांग्रेस सहितको गठवन्धन उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।
चुनावी घरदैलोकै कुरा गर्दा वडा नम्बर ७ का वडाध्यक्ष उम्मेदवार राममोहन आचार्यले आफु निवार्चित भए वडा अध्यक्षले पाउने कुनै पनि सेवा सुविधा नलिने घोषण गरेका छन् । आफु सेवा सुविधा उपभोग गर्न र वडामा आउने बजेट दुरुपयोग गर्न नभई जनताको सेवा गर्न र वडा नम्बर ७ लाई सबै दृष्टिकोणले उत्कृष्ट बनाउन जनप्रतिनिधि बन्न चाहेको बताए । उनले पनि वडामा घरदैलो अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
राम मोहन आचार्यको नेतृत्वमा महिला सदस्य पदका लागि विनिता अधिकारी बराल, दलित महिला सदस्यमा पूर्ण कुमारी नेपाली, खुल्ला सदस्यमा अजित कार्की (रुद्र) र विष्णु सुबेदी उम्मेदवारमा रहेका छन् ।
पोखरा महानगरको वडा नम्बर १ देखि ३३ सम्मै प्रत्येक स्थानमा घरदैलो अन्तिम चरणमा पुगेको नेपाली काँग्रेस र गठबन्धन सम्बद्ध दलहरुले जनाएका छन् ।