अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरे कारबाही हुने

-


     नेपालय न्युज    
     वैशाख २४ गते २०७९


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने जनाएको छ । शनिबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झण्डा र चुनाव चिह्न प्रचारप्रसारका क्रममा प्रयोग गरेको उजुरी परेकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘‘निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढङ्गले झण्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानुन बमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न–नगराउन आयोग सबैमा आग्रह गर्दछ ।’’

‘स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारहरुले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीको विषयमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने देखिएको जनाएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com