गठबन्धनका उमेद्वारको घोषणा ः ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा

-


     नेपालय न्युज    
     वैशाख २० गते २०७९


पोखरा, २० वैशाख ।

गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् ।

पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि संचालन गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

निर्वाचित भएको ३ महिना भित्र पोखरा महानगरपालिकामा घुम्ति अस्पताल र ‘सुन्दर पोखरा स्वस्थ पोखरेली’ कार्यक्रम संचालन गर्ने गठबन्धनका उमेदवारहरुको प्रतिवद्धता छ । यस्तै सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि ६ महिनासम्म २ हजारका दरले सुत्केरी पोषण भत्ता प्रदान गर्ने उमेदवारहरुले संकल्प गरेका छन् ।

पोखरा महानगरपालिकाको आधारभुत स्वास्थ्य सेवालार्इृ निशुल्क र सर्वसुलभ बनाउदै ३३ वटै वडामा दक्ष जनशक्ति सहितको स्वास्थ्य केन्द्रको व्यवस्थापन गर्ने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता रहेको छ ।

यहि वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा पोखरा महानगरपालिकामा प्रमुख पदका लागि गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com