
सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीमा रहेको आफ्नो झन्डै ४ अर्ब डलर बराबरको शेयर बेचेका छन् ।
घरेलु माइक्रोब्लगिङ कम्पनी ट्विटर किन्न सहमति गरेको केही दिनमै उनले यस्तो कदम चालेका हुन् । शेयर बिक्रीसँगै ४४ अर्ब डलरमा ट्विटर किन्न आवश्यक रकमको जोहो गर्न उनलाई मद्दत मिल्ने अड्कलबाजी बढेको छ ।
सोमबार ट्विटरको सञ्चालक समितिले कम्पनी किन्न मस्कले पेश गरेको प्रस्ताव पारित गरेको थियो । मस्कले सो सम्झौताका लागि आवश्यक रकमको व्यवस्था गर्न टेस्लाको शेयर बेच्ने चिन्ताबीच यो हप्ता टेस्लाको शेयर मूल्य ओरालो लागेको छ । यद्यपि, मस्कले भने कम्पनीको थप शेयर बेच्ने आफ्नो योजना नभएको भन्दै ट्विटमा बताएका थिए ।
मस्कले मंगलबार र बुधबार टेस्लाको ४४ लाख कित्ता शेयर बेचेको अमेरिकी शेयर नियामक सेकमा कम्पनीले बुझाएको फाइलिङले देखाएको छ । नियमित समयपछिको कारोबारमा कम्पनीको शेयर मूल्य बिहिबार २ दशमलव ६ प्रतिशतले घटेको थियो । गत वर्ष नोभेम्बर र डिसेम्बरमा पनि मस्कले कूल १६ अर्ब ४० करोड डलर बराबरको टेस्लाको शेयर बेचेका थिए । त्यसयताको यो पहिलो विक्री थियो । यो महीनाको शुरुमा मस्कले ट्विटरको ९ दशमलव २ प्रतिशत शेयर किनेको खुलासा गरेयता टेस्लाको शेयर करीब २० प्रतिशतले घटिसकेको छ ।
सोमबार ट्विटरको सञ्चालक समितिले मस्कको प्रस्ताव स्वीकार गरेको खबर सार्वजनिक भएपछि मंगलबार टेस्ला शेयर मूल्यमा तीव्र कमी आएको थियो भने बजार पूँजीकरण पनि १ खर्ब २५ अर्ब डलर भन्दा धेरैले गुमेको थियो । ट्विटर किन्न मस्कले आफ्नो सम्पत्तिबाट २१ अर्ब डलर खर्च गर्ने बताएका छन् । ट्विटरको टेकओभरका लागि मस्कले टेस्लाको शेयर बेच्ने हो कि भन्ने चिन्ताले पछिल्लो समय टेस्लाका लगानीकर्ताहरुलाई पिरोलिरहेको छ ।
मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको नेटवर्थ २ खर्ब ५० अर्ब डलर रहेको छ । उनको अधिकांश नेटवर्थ टेस्लाको शेयरमा छ । रकेट कम्पनी स्पेश एक्समा पनि मस्कको ४० प्रतिशतभन्दा धेरै शेयर छ । स्पेश एक्सको नेटवर्थ १ खर्ब हाराहारीमा छ । एजेन्सी