प्रतिस्पर्धी उम्मेदवारका आमाहरुको मुख हेर्दै कांग्रेस पोखरा १२ का उम्मेदवार बास्तोला 

-


     नेपालय न्युज    
     वैशाख १७ गते २०७९


पोखरा ।
आज आमा औंसी । आमाको मुख हेर्ने दिन । यो पवित्र दिनमा संसारभरका नेपालीहरुले आआफ्ना आमाहरुको मुख हेरेका छन् । आमा नभएकाहरुले सम्झिएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर १२ मा वडाध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले फरक तरिकाले आमा औंसी मनाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार बास्तोलाले शनिबार आफ्नी आमाको मात्रै मुख हेरेनन्, उनी आफूसँगै चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारकी आमाहरुको मुख पनि हेरेका छन् । उनीहरुको आशीर्वाद पनि लिएका छन् ।

पोखरा १२ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार देशभक्त केसी छन् । राप्रपाका उम्मेदवार अमृत आचार्य छन् । कांग्रेस उम्मेदवार बास्तोलाले केसी र आचार्यको घरमै पुगेर उनीहरु दुवैका आमाहरुको मुख हेरी आशीर्वाद लिएका हुन् ।

चुनाव लोकतान्त्रिक प्रक्रिया भएको हुँदा यसमा भाग लिएर सबैले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेको हुँदा अरु उम्मेदवारहरुसँग आफ्नो स्वच्छ प्रतिस्प्र्धा हुने बास्तोलाले बताए । ‘त्यसैले पनि हामी सबैका आमाहरु मेरा पनि आमाहरु हुनुहुन्छ,’ बास्तोलाले भने, ‘त्यसैले पनि सबै आमाहरुहरुको मुख हेरेर आशीर्वाद लिएको हुँ ।’

बास्तोलाले आफूले चुनाव जितेमा वडाभरिका सबै आमाहरुको मुद्दा सम्बोधनलाई प्राथमिकतामा राख्ने पनि जानकारी गराए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com