थापालाई राेक्ने पृथ्वीसुब्बाको चाल : सांसदलाई मेयर नबनाऔँ!

- एमाले सांसद कृष्ण थापा भन्छन् : यस्ताे निर्णय भएको छैन

-


     नेपालय न्युज    
     वैशाख ८ गते २०७९


वाशुदेव मिश्र, पोखरा ।
सांसद कृष्ण थापाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारमा मन्त्रीको आकांक्षा राखेका थिए। तत्कालीन एमाले कास्की अध्यक्षसमेत रहेका थापालाई मन्त्री बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि चासो दिएका थिए।

तर, गण्डकीका संस्थापक मुख्यमन्त्री गुरुङले थापालाई मन्त्री बनाएनन्। प्रदेश राजधानीकै जिल्लाका व्यक्तिलाई मन्त्री नबनाएको भन्दै उनको आलोचना भयो। तर, मुख्यमन्त्री गुरुङ डेग चलेनन्।

थापा तत्कालीन एमालेमा केपी शर्मा ओली निकट नेता नै थिए। सोही गुटमा रहेका पृथ्वीसुब्बा थापाप्रति सकारात्मक नहुनुको कारण थियो, ‘थापाको अर्का नेता खगराज अधिकारीसँगको निकटता।’

पोखरा महानगरपालिकाका पूर्वमेयरसमेत रहेका थापा यसपटक पोखराको मेयर बन्ने दौडमा थिए। उनले एमालेभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई मेयरको प्रत्यासीको रुपमा खडा गरे।

थापासँगै अर्का प्रदेश सांसद राजीव पहारी, एमाले उपमहासचिव पृथ्वीसुब्बाकी सम्धिनी मीनाकुमारी गुरुङ, एमाले गण्डकीका उपसचिव रश्मी आचार्य, केन्द्रीय सदस्य भीम कार्की, एमाले कास्कीका सचिवालय सदस्य दीपक पौडेल, हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगाना, कास्की उपसचिव दर्शन लामा, केन्द्रीय सदस्य बालासिंह काउछा मगर, प्राडा विश्वकल्याण पराजुली, पर्यटन व्यवसायी पुष्पराज अधिकारी र जिल्ला समन्वय समितिकी उपप्रमुख सावित्री भण्डारीले नाम दर्ता गराए।

ती नामहरू उपर मतदान गर्ने र एक महिलासहित ३ जनाको मात्रै नाम प्रदेशमा पठाउने पोखरा महानगर समितिको तयारी थियो। तर, अन्तिममा चुनाव हुँदा मन विभाजन हुने भन्दै त्यसो गरिएन।

स्रोतका अनुसार चुनाव नगराउन अध्यक्ष ओलीले नै निर्देशन दिएका थिए। चुनाव भएमा कृष्ण थापाले जित्ने सम्भावना बढी नै थियो।

आकांक्षी १२ जनाकै नाम नगरले प्रदेश र प्रदेशले केन्द्रमा पठायो। १२ जनामध्ये सबैभन्दा बलियो दावेदार कृष्ण थापा नै थिए। एमाले प्रतिपक्षमा रहेकाले प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको प्रत्यासी बन्ने उनको दाउ थियो। केन्द्रमा नाम पठाउँदा पनि आफ्नो पक्षमै निर्णय आउनेमा उनी आशावादी थिए।

तर, एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बालकोटमा बसेको सचिवालय बैठकले बहालवाला सांसदलाई मेयर नबनाउने निर्णय गरेको जानकारी दिए। चितवनको हकमा भने त्यसो गरिएन। सो निर्णय बाहिरिएसँगै प्रदेश सांसद कृष्ण थापा रुष्ट बने। उनले आफूलाई मेयरमा रोक्नको लागि पृथ्वीसुब्बाले षड्यन्त्र गरेको रुपमा बुझेका छन्।

‘पार्टीले यस्तो निर्णय गरेको छैन’,उनले भने, ‘सांसदले मेयर बन्न नपाउने भन्ने छैन।’

उपमहासचिव पृथ्वीसुब्बाले गण्डकीमा प्रदेश सरकार गिर्नसक्ने सम्भावना रहेको तर्क गरे पनि तत्काल त्यो सम्भव नभएको थापाको तर्क छ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको यो सरकारले बहुमत गुमाएमा पनि उपधारा ७ आकर्षित हुने अवस्था रहने एमालेकै एक नेताले बताए।

उपधारा ७ मा ‘धारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ।’ भन्ने उल्लेख छ ।

पृथ्वीसुब्बा पक्षधर सांसद पहारीभन्दा थापा मेयरका प्रवल दावेदार थिए। उनलाई रोक्ने प्रयत्न गरेपछि एमाले कास्कीका हलचल मच्चिएको छ।

‘पृथ्वीसुब्बाले पोखराको एमाले संगठन कमजोर बनाए। बलियो उम्मेदवारलाई पाखा लगाउन खोजे र सधैँ गुटको राजनीतिमा रमाए’,एमाले कास्कीका एक नेताले भने, ‘खगराज कमरेडसँगको रिसले पार्टी नै कमजोर बनाउने निर्णयको प्रभाव डरलाग्दो हुनसक्छ।’ नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com