जेलेन्स्कीले भने, ‘रुसीले हामीलाई मार्न सक्छन् तर तिनीहरु आफैँ पनि मारिने छन्’

-


     नेपालय न्युज    
     वैशाख २ गते २०७९


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली देशमाथि आरोप लगाउँदै रुसबाट तेल खरिद गरिरहेका देशले अरुको रगतबाट लत्पत्तिएको कमाई गरिरहेको बताए ।

बीबीसीलाई दिएको अन्तरवार्तामा जेलेन्स्कीले जर्मनी र हंगरीमाथि लक्षित गर्दै रुसबाट तेल खरिदमा लगाइएको प्रतिबन्धको कार्यान्वयनमा बाधा पुर्याइरहेको बताए । यो निर्यातबाट रुसले यस वर्ष ३२६ अर्ब डलरसम्मको फाइदा लिनसक्ने उनले बताए ।

हालैका दिनमा जर्मनीको विषयमा युक्रेनी नेतामा रोष बढेको छ । जर्मनीले रुसविरुद्ध केही प्रतिबन्धलाई समर्थन गरेको छ तर तेल खरिदमा कडा कदम चाल्न पूर्ण रुपमा समर्थन गरेको छैन ।

‘हाम्रा केही सहकर्मी र साथीहरुले बुझेका छन् कि समय अब उस्तै छैन, यो अब व्यापार वा पैसाको कुरा होइन । यो अब बाँच्नका लागि संघर्ष हो,’ जेलेन्स्कीले बिहिबार युक्रेनको राजधानी किभस्थित कक्षमा भने ।

राष्ट्रपति जेलेन्स्कीले पुनः एकपटक अन्तर्राष्ट्रिय देशलाई युक्रेनलाई थप हतियार उपलब्ध गराउन अपिल गर्दै रुसी आक्रमणको जवाफ दिन चाँडै थप हतियारको आवश्यकता भएको बताए ।

उनले थपे, ‘अमेरिका, बेलायत र केही युरोपेली देश हाम्रो मद्दत गर्ने कोसिस गरिरहेको छ र उनीहरुले मद्दत पनि गरिरहेका छन् । तर हामीलाई छिटोभन्दा छिटो थप मद्दत चाहिएको छ ।

हालैका दिनमा युक्रेनको राजधानी किभ र देशको उत्तरी र केन्द्रीय इलाका घेर्ने कोसिस गरिरहेको रुसी सेनाले आफ्ना सैनिकलाई यहाँबाट फिर्ता गरिसकेको छ । रुसी सेनाले शक्तिको बलमा युक्रेनलाई आफ्नो कब्जामा लिने कोसिस अब त्यागिदिएको अनुमान गरिएको छ ।

रुसले अब किभबाट ध्यान हटाएर युक्रेनको पूर्व र दक्षिणमा आक्रमणलाई तीब्र बनाएको छ र युक्रेनले रुसबाट आफ्नो भूभाग जोगाउन पुनः युद्ध लडिरहेको छ । यसअघि सन् २०१४ मा युक्रेनको हिस्सा रहेको क्रिमियालाई रुसले गाभेको थियो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाका लागि पूर्वमा स्थिति ‘धेरै गाह्रो’ भएको बताए तर यो त्यो क्षेत्र हो जहाँ उनीहरुको सबैभन्दा शक्तिशाली सेना रहेको छ ।

उनले भने, ‘उनीहरुले हामीलाई नष्ट गर्न सक्छन् तर हामी यसको जवाफ दिनेछौँ, उनीहरुले हामीलाई मार्न सक्छन् तर तिनीहरु आफैँ पनि मारिने छन् । तिनीहरु यहाँ किन र के गर्न आएका हुन्, मलाई थाहा छैन । ’ एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com