एलन मस्कको स्वामित्वको खबरसँगै २५ % ले बढ्यो ट्विटरको शेयर

-


     नेपालय न्युज    
     चैत्र २१ गते २०७८


सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट कम्पनी ट्विटर इंकको शेयरमूल्य बढेको छ ।

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्सका संस्थापक एलन मस्कसँग ट्विटरको करोडौं कित्ता शेयर भएको खबर सार्वजनिक भएसँगै बजार खुल्नु अघिको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५ प्रतिशतले बढेको हो ।

अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) मा कम्पनीले बुझाएको फाइलिङअनुसार ट्विटरमा मस्कको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता शेयर छ । यो कम्पनीको कुल शेयरको ९ दशमलव २ प्रतिशत हो । शुक्रवार बजार बन्द हुँदाको शेयर मूल्यको आधारमा ती शेयरको मूल्य २ अर्ब ८९ करोड डलर बराबर हुन आउँछ । फायलिङमा ती शेयरलाई निष्क्रिय शेयरको रुपमा वर्गिकरण गरिएको छ ।

यसको अर्थ मस्कले ती शेयर लामो समयदेखि किनेर राखेको वा लामो समयसम्म नबेच्ने गरी ती शेयरमा लगानी गरेको भन्ने हुन्छ ।

मस्क बारम्बार ट्विटर प्रयोग गरिरहन्छन् । उनको ट्विटरमा ८ करोड फलोअर छन् । तर उनले गरेका केही ट्विट मस्कको लागि निकै महँगो साबित भएको छ । सन् २०१८ को अगष्ट ७ मा टेस्लालाई प्रतिकित्ता ४२० डलरमा प्राइभेट बनाउन पर्याप्त रकम जुटिसकेको भन्ने ट्विटका कारण उनले कम्पनीको अध्यक्ष पद गुमाउनु परेको थियो । टेस्ला र मस्क दुबैलाई सेकले जरिवाना पनि तिराएको थियो ।

मस्कले नयाँ सामाजिक सञ्जाल मञ्च बनाउनेबारे गम्भीर रुपमा विचार गरिरहेको भन्दै ट्विट गरेको केही दिनपछि यो खबर आएको हो । मस्कले नियमित रुपमा ट्विटर चलाउने भएपनि उनी यसको कटु अलोचक हुन् । यसले वाक स्वतन्त्रतालाई दबाएको उनको आरोप छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com