५० प्रतिशत अमेरिकी रुसले अमेरिकामाथि आणविक आक्रमण गर्नसक्छ भन्ने डरमा : सर्वेक्षण

-


     नेपालय न्युज    
     चैत्र १५ गते २०७८


वासिङटन । हाल रुसले युक्रेनमा गरिरहेको आक्रमणलाई लिएर अहिले अधिकांश अमेरिकीहरू अमेरिका पनि सो युद्धमा प्रत्यक्ष रूपमा मुछिने र अमेरिकामाथि आणविक आक्रमण हुने आशंकाले निकै चिन्तित रहेको पछिल्लो एक मत सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणले अमेरिकी जनतामा शितयुद्धकालीन प्रतिध्वनी भइरहेको जनाएको छ । दि एसासियटेड प्रेस–नोर्के सेन्टर फर पब्लिक अफफेयर्स रिसर्चले गरेको मत सर्वेक्षणअनुसार झण्डै ५० प्रतिशत अमेरिकी रुसले अमेरिकामाथि प्रत्यक्ष रूपमा आणविक हतियारले आक्रमण गर्नसक्ने भनेर डराइरहेको जनाएको छ ।

गत २४ फ्रेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गर्ना साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको आणविक फौजलाई सतर्क अवस्थामा राखेका थिए ।

१० जनामध्ये करिब ९ जना अमेरिकी पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गर्लान् भनेर डराउने गरेको र तीमध्ये पनि १० जनामा ६ जना यस विषयलाई लिएर अत्यन्तै तर्सिने गरेको सर्वेक्षणले जनाएको छ ।

अमेरिकाको मास्साचुसेत्सको एमहर्स्ट निवासी एकजना अवकाशप्राप्त अनुसन्धानकर्ता रोविन थोम्पसनले भनेका छन्, “पुटिन अनियन्त्रित छन् । मेरो विचारमा उनलाई आफूलाई चाहिने कुराबाहेक अन्य कुनै पनि कुरामा मतलब नै छैन । र उनीसँग आणविक हातहतियार छन् ।”

त्यसैगरी ७१ प्रतिशत अमेरिकी युक्रेन माथिको रुसको आक्रमणको कारण विश्वको कुनै पनि कुनामा आणविक हतियार प्रयोग हुनसक्ने सम्भावना बढाएको बताउँछन् ।

यसैगरी उत्तर कोरियाले आफ्ना सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गर्नुअघि गरिएको सर्वेक्षणले ५१ प्रतिशत अमेरिकी उत्तर कोरियाको आणविक कार्यक्रमबाट निकै डराउने गरेको तथ्य पत्ता लगाएको छ ।

एपीबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com