एमसीसीमा एक भएको कांग्रेस गठबन्धनमा दुई धार ! केन्द्रीय समितिले नै गर्‍यो तालमेलको निर्णय


     नेपालय न्युज,     
     चैत १५ गते २०७८


काठमाडौं । आगामी स्थानीय निर्वाचनमा स्थानीय समितिले आवश्यकता ठानेमा गठबन्धन गर्न सकिने निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ ।

बैठकमा कांग्रेस प्रदेश सभापतिसहित एकपक्षले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने धारणा राखेका थिए भने संस्थापन पक्षले गठबन्धन नगरे चुनाव नजितिने भन्दै पक्षमा धारणा राखेका थिए ।

सभापति शेरबहादुर देउवानिकट सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उपस्थित भएनन् । तर संस्थापन पक्ष गठबन्धनको पक्षमा निर्णयका लागि सम्पूर्ण शक्ति लगाइरहँदा बलायर समाजिक सञ्जालबाट भन्दै थिए, ‘सुदूरपश्चिममा गठबन्धन हुँदैन ।’

“संसद्मा कांग्रेसको कहालीलाग्दो उपस्थिति छ । र पनि सरकारको नेतृत्वमा कांग्रेस हुनुको सम्पूर्ण जस/अपजस ओली (केपी ओली)लाई जान्छ,” बलायरले फेसबुकमा लेखे, “नेपाली कांग्रेस वर्तमान गठबन्धनका दलहरूप्रति सदासयता राख्छ । तर, उनीहरूको पार्टी नै बचाइदिन आफ्नो पार्टीमा पेट्रोल खन्याउन सक्दैन ।”

कांग्रेसका गण्डकी र लुम्बिनी प्रदेशका सभापतिहरूले केन्द्रीय समितिमा गठबन्धनले पार्टीलाई नराम्रोसँग क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

भोलिका दिनमा पार्टीलाई उठ्नै नसक्ने बाटोमा धकेल्ने काम नगर्न केन्द्रीय समितिको ध्यानाकर्षण पनि गराएका उनीहरूले गठबन्धनले नयाँ मतदातालाई कांग्रेसमा आकर्षण गर्ने बाटो बन्द गरिदिने, पार्टीभित्र असन्तुष्टि अझ बढाउने र उमेदवारलाई पार्टीका साथीभन्दा अर्को पार्टीका नेता कार्यकर्तासँग निकट बनाउँदा संगठन ध्वस्त हुने बताएका थिए ।

भारतीय नेसनल कंग्रेसले गठबन्धन गर्दा त्यो हालतमा पुगेको भन्दै उनीहरूले नेपाली कांग्रेसलाई पनि त्यस्तै अवस्थामा पुग्न नदिन एक्लै चुनावमा जान आग्रह गरेका छन् ।

तर, कांग्रेस संस्थापनले यी सभापतिको सुझावलाई संस्थापनइतरको धारणा भनेर गम्भीर रूपमा लिएन । संस्थापनइतरका नेता शेखर कोइरालले चुनावी गठबन्धन पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर मात्र सम्भव हुने बताइसकेका थिए ।

“किन गर्ने र केका लागि गठबन्धन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?,” देउवालाई प्रश्न गर्दै नेता कोइरालले भनेका थिए, “कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?”

यस्तै, महामन्त्री गगन थापाले ३६ लाख नयाँ मतदातालाई कम्युनस्टिका ‘हँसिया हथौँडा’मा भोट हाल भनेर कांग्रेस कसरी बन्छ भन्दै प्रश्न उठाएका थिए ।

उनले कांग्रेसको आन्तरिक एकता मजबुत मात्र हुँदा अरूसँग लड्न कठिन नभएको भन्दै देशभर एक्लै चुनाव लड्दा व्यवस्थापन गर्न नसकिने नेता कार्यकर्ता गठबन्धनका नाममा उमेदवार नै बन्न नपाए कसरी पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन हुन्छ भनेर पनि प्रश्न राखेका थिए ।

थापाले त कम्युनिस्टहरूलाई कांग्रेसले नलिए उनीहरू एक हुने र त्यो संविधान र लोकतन्त्रका लागि जोखिम हुने भन्ने सभापति र उनी निकटस्थको तर्कलाई पनि चुनावी एजेन्डा बोक्ने कि कम्युनस्टिहरू बोक्ने भनेर प्रश्न उठाएका छन् ।

“हामीले नमिलाए कम्युनिस्ट एक हुन्छन् । लोकतन्त्र र संविधानका लागि जोखिम बन्छन् भन्ने हो भने त झन् उनीहरूसँग गठबन्धन गर्नुहुँदैन,” थापाले भनेका छन्, “यदि त्यस्तो हो भने कम्युनस्टि बोकेर चुनावमा जाने होइन । उनीहरू लोकतन्त्र र संविधानका लागि खतरा हुन भन्ने एजेन्डा बोकेर जनतामा जानुपर्छ ।”

संस्थापनइतरले जतिसुकै तर्क वितर्क गरेपनि सभापति देउवा भने गठबन्धनको रथ छोड्ने पक्षमा देखिएका छैनन् । उनी विगतमा गठबन्धन नगरेकै कारण धेरैले हारेको, आफूले पनि बल्लबल्ल जितेको तथा ओलीको पार्टी एमाले अहिले पनि बलियो नै रहेको तर्क दोहोर्‍याइरहेका छन् । माओवादीलाई बोकेको भन्दै भएका टिप्पणिप्रति आक्रोशित हुँदै उनले माओवादीलाई मैले ल्याएको हो भनेर तर्क गरिरहेका छन् ।

“माओवादीलाई जंगलबाट मैले ल्याएको हो ?,” सभापति देउवाले शेखरलाई प्रश्न गरेका थिए, “माओवादीलाई ल्याउने गिरिजाप्रसादलाई प्रश्न गर्नुभएको थियो ?”

विगतमा गठबन्धन नगरेकै कारण तपाईंले हारेको होइन भन्दै शेखरलाई प्रश्न गरेका देउवाले आफूले पनि बल्लबल्ल जितेको बताएका थिए । विगतमा शेखरहरूजस्तै बोलेका कारण गठबन्धन नभएको भन्दै उनले अहिले पनि गठबन्धनविरुद्ध नबोल्न आग्रहसमेत गरेका थिए ।

गठबन्धनको मुद्दामा नयाँ समूह
चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा नयाँ समूह देखिएका छन् । गठबन्धन पक्षको नेतृत्व सभापति देउवाले गरिरहेका छन् भने गठबन्धन गर्नु नहुने पक्षको नेतृत्व नेता शेखर कोइरालाले गरेका थिए तर सफल भने हुन सकेनन् ।

देउवा पक्षमा पहिले विरोधी खेमाको नेतृत्व गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, सुजाता कोइराला तथा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतदेखि केन्द्रीय सदस्य बालकृष्ण खाँणसम्म छन् ।

त्यसैगरी, गठबन्धनको विरुद्धमा शेखरले उठाएका मुद्दाका पक्षमा संस्थापनइतरका नेता उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित महाधिवेशनमा शेखरसँग नदेखिएका पूर्वमहामन्त्री शशांक कोइराला छन् ।

यस्तै सभापति देउवाको गुटमै रहेका सूदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरदेखि संस्थापनइतरकै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायत नेता पनि गठबन्धनको विरोधमा देखिएका थिए । बाह्रखरीबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com