
पोखरा ।
गजलकार उदीपराज ढुंगानाले एउटा गजल लेखे । समय साँझको रमझम थियो । साथीभाई सँग सुरामा रमाउँदै थिए उदीप पनि । मात चढीरहेका बेला गजल फुर्यो । उनले सुनाईहाले । त्यहिँ थिए अर्का गजलकार तथा गीतकार मन क्षेत्री । उदीपको गजलको पहिलो हरफ मनको दिमाखमा बस्यो । पछिल्लो दिन गायक विनोद बानियाँ सँग साँझकै बेला सुरामा रमाउँदै गर्दा मनले भने ‘दाई उदीपले एउटा मिठो गजल लेखेको छ, संगीत भर्न पर्यो ।’ बानियाँले उक्त गजल सुने । पहिलो हरफ नै मन पर्यो । दिमाखमा एउटा धुन बन्यो । उनले तत्काल नै मनलाई सुनाए ।
विनोदको बलेनी भर्खरै सार्वजनिक भएको थियो । दर्शकको रोजाईमा परिरहेका बेला उनले सुरामा निकाल्न सकेनन् । पछि देशमा कोरोना महामारी आयो । गीतको रकर्डिङ देखि छायाँकन सम्मका सबै काम प्रभावित हुन पुग्यो । विनोद समयको पर्खाइमा थिए । राम्रो समय फर्किएला र गीत सार्वजनिक गरौंला भन्ने सोच उनमा थियो । जून आज आएर मात्र पूरा भएको छ ।
गायक विनोद बानियाँको बानी पर्यो सुरामा सार्वजनिक भएको छ । शुक्रबार पोखरामा पत्रकारका बीच एक कार्यक्रमको आयोजना गर्दै विनोेदले उक्त गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा बोल्दै विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेलीको पूर्णतया सहयोग मिल्नेमा उनी विश्वस्त छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष तथा परिचय डटकमका प्रधान सम्पादक सुरेश रानाभाटले गीतमा विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुन आवश्यक रहनुपर्ने धारणा उनको थियो ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार अमृत सुवेदीले पोखरा पर्यटकीय शहरसँगै संगीत क्षेत्रको पनि उर्भरभूमी भएकाले नयाँनयाँ सिर्जना आउनु सुखद भएको उल्लेख गरे । विनोदको बानी पर्यो सुरामाले पोखरेली संगीत र सिर्जनालाई माथी उठाउन महत्वपूर्ण भूमिका खेल्नेमा उनी विश्वस्त देखिन्छन् ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार मन क्षेत्रीले विनोद बानियाँ संगीतका राम्रा साधक भएको उल्लेख गरे । संगीत संगत भएकाले संगतका कारण नै बानी पर्यो सुरामा आज सार्वजनिक गरिएको धारणा उनको थियो । पछिल्लो समय विनोद बानियाँ गायक मात्र नभएर संगीतकारका रुपमा समेत परिचित हुँदै गएको उनले बताए । उदीपको पहिलो रेकर्डिङ गीत बानी पर्यो सुरामालाई उनले प्रशंसा गरेका छन् ।
म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफुले गायक विनोद बानियाँसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उक्त गीत मार्फत नै राना म्युजिक भिडियो अभिनयमा डेब्यू गरेका हुन् । लामो समय भारतीय सेनामा आबद्ध भई हाल पोखरामा व्यवसाय गर्दै आएका राना अभिनय क्षेत्रमा आउन चाहन्छन् ।
विनोदको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । छायाँकन मिलन शंकरको हो । टिकटक स्टार विना राउत र प्रदीप बास्तोलाको अभिनय रहेको गीतलाई पोखराको हेमजा स्थित डिलबारीमा छायाँकन गरिएको हो । गीत विनोद बानियाँकै अफिसियल युटुब मार्फत सार्वजनिक भएको छ ।