
राधिका अधिकारी ।
सिनेमाका पर्दामा नाचिरहेकी रेखा थापा झण्डै १२ वर्षअघि सिंहदरबार नाच्दै गरेकी भेटिइन्। जतिबेला तत्कालिन एकीकृत नेकपा माओवादीले सिंहदरबार घेराउ कार्यक्रमको आयोजना गरेको थियो। सोही कार्यक्रममा ‘लालुपाते नुग्यो भुइँतिर, कि लाउ माया उहीतिर कि लाउ मै तिर’ बोलको गीतमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कम्मर मर्काइन्। उनको कम्मर मर्काइ सर्वत्र चर्चाको विषय बन्यो। यही नृत्यपछि कलाकार रेखा थापाको अनुहारमा राजनीतिक रंग पोतियो।
संविधान सभाको दोस्रो निर्वाचनमा रेखा सभासदमा उठ्ने चर्चा चल्यो। माओवादीले उनलाई पर्सा क्षेत्र नम्बर १ बाट टिकट दिने लगभग टुंगो जस्तै लागेको थियो। तर मतदाता नामावलीमा नाम नभेटिएपछि सभासद् लड्ने रेखाको चाहाना त्यसै मर्यो। त्यसपछि रेखा राजनीतिमा कम कलाकारितामै धेरै देखिन थालिन्।
माओवादीको राजनीतिक एजेण्डा बोकेर सभासदमा लड्न तयार भएकी रेखाले २०७३ सालमा कित्ता परिवर्तन गरिन्। प्रगतिशील भनिएको माओवादी छोडेर रेखाले पुरातनवादी पार्टी राष्ट्रिय प्रजातन्त्र (राप्रपा)मा प्रवेश गरिन्। केही समयअघि मात्रै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन खेमाबाट महामन्त्री उम्मेदवार बनेर मैदानमा देखिएकी रेखा पराजित भइन्।
एकता महाधिवेशनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखालाई केन्द्रीय सदस्य मनोनयन गरे। अहिले उनी राप्रपामा सक्रिय छन्।
राप्रपा महामन्त्रीको दौडमा रहेकी रेखाले त्यतिबेला केही व्यक्तिले राजनीतिलाई पेसा बनाएर लुटिरहेको देख्न नसकेर राजनीतिमा आएको बताएकी थिइन्।
पराजित भएपछि भनेकी थिइन्, ‘पार्टीभित्रको हार जित एकातिर छ। तन, मन, वचन र विचारले दत्तचित्त भएर राजनीतिमा लाग्ने मान्छे एक दिन सफल हुन्छ।’
तथापि उनको यो राजनीतिक विचार कहाँ पुगेर परिवर्तन हुन्छ भन्न सक्ने अवस्था छैन।
गायिका कोमल वलीले २०७३ सालमा रेडियो नेपालको जागीर छोडेर कमल थापा अध्यक्ष रहेको राप्रपा प्रवेश गरिन्। त्यस लगत्तै राप्रपा पार्टी टुक्रियो। कोमलले ठूलो तामझामका साथ एमाले प्रवेश गरिन्।
कोमललाई पनि एमाले अध्यक्ष केपी ओली लगायतका नेताले प्रतिनिधिसभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट दिने आश्वासन दिए। अन्तिम समयमा आएर उनलाई पार्टीले धोका दियो।
उनलाई टिकट दिने भनेको ठाउँमा एमालेले हिराचन्द्र केसीलाई उम्मेदवार बनाएर उठायो। त्यसलगत्तै कोमलले आफ्नो आत्मसम्मानमा चोट पुगेको बताउँदै स्वतन्त्र उम्मेदवारी घोषणा गरिन्।
अन्तिममा उनले आफ्नो उम्मेदवारी पनि फिर्ता लिइन्। बदलामा एमालेले उनलाई लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवार बनायो। उनी निर्विरोध राष्ट्रिय सभा सदस्यमा चुनिइन्। भर्खरै मात्र राष्ट्रियसभा सदस्यको आफ्नो कार्यकाल पुरा गरेकी वली अहिले एमाले केन्द्रीय सदस्य हुन्।
राजनीतिमा अभिनेत्री करिश्मा मानन्धरको तरंग भने सेलाइसकेको छैन। गत मंगलबार मात्रै ठूलो तामझाम सहित एमाले प्रवेश गरेकी करिश्मालाई लिएर बहस भैरहेको छ। कलाकारिता गर्दा गर्दै राजनीतिमा देखिएकी करिश्माको पनि एमाले पहिलो राजनीतिक आस्थाको पार्टी होइन्।
करिश्माले २०७३ सालमा तत्कालीन एकीकृत माओवादी छोडेर डा. बाबुराम भट्टराईले खोलेको ‘नयाँ शक्ति’बाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। नयाँ शक्तिमा रहँदा पार्टीको विकास र विस्तार नारा बोकेर गाउँगाउँ पुगेकी करिश्माको बाबुरामसँगको सहयात्रा लामो टिकेन। बाबुरामले पनि नयाँ शक्ति जोगाउन सकेनन्। उनले आफ्नो पार्टीलाई उपेन्द्र यादवको संघीय समाजवादीमा बिलिन गराए।
बाबुरामको नयाँ शक्ति छोडेपछि करिश्माले केही वर्ष राजनीतिक विश्राम लिइन्, अध्ययनलाई निरन्तरता दिइन्। ‘नयाँ शक्ति’ छाडेको तीन वर्षपछि करिश्मा फेरि औपचारिक रुपमा राजनीतिमा सक्रिय भएर आएकी छिन्।
मंगलबार एमाले पार्टी प्रवेश गरेकी करिश्मालाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे। करिश्माले पनि एमाले प्रवेश गर्नुका किस्सा बुँदामा सुनाइन्। अहिले उनले सुनाएका किस्सा पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन्।
गणतन्त्रपछि थुप्रै कलाकार राजनीतिमा आए। तर, थोरै कलाकार मात्रै स्थापित भएका छन्। एकै पार्टीमा आस्था राखेर बसेका कलाकार केन्द्रीय राजनीतिको चर्चामा आउन सकेका छैनन्।
राजनीतिक आस्था परिवर्तन गर्दै राप्रपाको केन्द्रीय सदस्यसम्म बन्न सफल भएकी अभिनेत्री रेखा थापा लहै–लहैमा राजनीतिमा लाग्दा कलाकार राजनीतिमा स्थापित हुन नसकेको तर्क गर्छिन्।
नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापा भने कलाकारमा राजनीतिक इमान्दारीता नहुँदा दल बदलिरहने प्रवृत्ति देखिएको बताउँछन्। पार्टीले पनि कलाकारलाई मास जम्मा पार्न, भीडलाई आफ्नो पक्षमा ल्याउन मात्रै प्रयोग गर्ने गरेको उनको तर्क छ।
उनी भन्छन्, ‘कलाकारहरु मौकाको खोजीमा दौडिरहेका हुन्छन्। तर, त्यो मौका राजनीतिक दलका नेताहरुले उठाइरहेका हुन्छन्। कलाकारको पहिचान व्यवस्थापन गर्नुपर्छ भन्ने कुनैपनि पार्टीमा नीतिगत व्यवस्था छैन।’
कलाकारको दम्भका कारण पनि कतिपय अवस्थामा पार्टी फेर्नु पर्ने अवस्था सिर्जना गर्ने संगीतकार चेतन सापकोटाको तर्क छ। भन्छन्, ‘हामी सेलिब्रेटी हौँ, जुनसुकै पार्टीमा गएपनि जनसमर्थन पाइहालिन्छ भन्ने दम्भ हुन्छ। तर राजनीति र कलाकारिता फरक हो।’
कलाकारमा राजनीतिक चाहाना भएको तर लगाव नभएका कारण एकै पार्टीमा स्थापित हुन नसकेको सापकोटा बताउँछन्। नेपालखबरबाट