
पेचिङ (चीन) । चीनलाई पछिल्लो समय कोरोना भाइरसको संक्रमणले नराम्ररी गाँज्न थालेको छ । कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन भेरिएन्टका कारण देशका २० भन्दा धेरै प्रान्त र शहरहरुले संक्रमण नियन्त्रणका उपाय अन्तर्गत यात्रामा प्रतिबन्ध र बन्दाबन्दी लागू गरेका छन् ।
चिलिन, हपई, क्वाङतोङ र शाङहाईमा संक्रमणको अवस्था खराब बनेको छ । चिलिन प्रान्तको चिलिन शहरले करीब ४५ लाख बासिन्दाहरुलाई सोमवारदेखि तीन दिन घरमै बस्न आदेश दिएको छ ।
शाङ्हाईलाई पुरै बन्द र नियन्त्रित अवस्थामा गरिएको छ । स्थानीय स्तरमा कोभिडको प्रकोपलाई नियन्त्रण गर्नका लागि उत्तरपूर्वी प्रान्त लियाओनिङको राजधानी शेङयाङमा अधिकारीहरले मंगलवारदेखि समुदाय र गाउँहरुमा बन्द व्यवस्थापन लागू गर्न थालेका छन् ।
पछिल्लो समय देशभरमा संक्रमण बढ्न थालेपछि संक्रमण विरुद्धका उपायहरु अपनाउनु पर्ने दबाबमा सरकार छ । नेशनल हेल्थ कमिशन (एनएचसी)ले संक्रमण नियन्त्रणको उपायहरु खुकुलो बनाउने नयाँ निर्देशिका जारी गरेको केही दिनपछि चिनियाँ राष्ट्रपनि सि चिनफिङले चीन शून्य कोभिड नीतिमा अडिग रहने बताएका थिए ।
एनएचसीले आफ्नो वेबसाइटमा कोभिड निदान र उपचार योजनाको नवौं संस्करण निकालेको थियो । चीनको शून्य कोभिडको नीतिले नगद अभाव झेलिरहेका स्थानीय सरकारहरुलाई मार परेको छ । स्वास्थ्य उपचारको खर्च बढेको छ भने कर्जा नियन्त्रणको प्रयास असफल भइरहेको छ । यस्तोमा स्थानीय सरकारहरुको वित्तीय भार बढेको छ ।
चीन अहिले २ वर्षयताकै खराब संक्रमण नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । प्रविधिको हब शन्चन समेतका कयौं शहरहरुमा यात्रामा प्रतिबन्ध र बन्दाबन्दी लगाइँदा आर्थिक स्थायित्वमा हलचल देखिन थालेको छ भने विश्वभर आपूर्ति शृङ्खला तरङ्गित हुन थालेको छ । चीनले कठोर लकडाउन, सामूहिक परीक्षण र क्वारन्टिनलगायत उपायहरु अपनाएर कोभिड प्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ । एजेन्सी