
२ वर्षदेखि बन्द रहेको नेपाल–चीन नियमित उडान अप्रिलबाट फेरि सुरु हुने भएको छ।
कोभिड महामारी सुरु भएसँगै २०२० को सुरुबाटै बन्द भएका उडान खुल्न लागेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल–चीन सिधा उडानको लागि नेपालमा कुनै समस्या नभए पनि चीनको कारण उडान हुन नसकेको जनाएको छ।
चिनियाँ एयरलाइन्सका प्रतिनिधिलाई उद्धृत गर्दै प्राधिकरणको उडान अनुमति शाखाका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले अप्रिल पहिलो हप्ताबाट नेपाल–चीन उडान अनुमति दिइने जानकारी पाएको नेपालखबरलाई बताए।
उनका अनुसार सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सीएएसी)ले त्यहाँका नेपाल उडान गर्ने एयरलाइन्सलाई यस्तो जानकारी दिएको हो।
‘चिनियाँ एयरलाइन्सका प्रतिनिधिले अप्रिल पहिलो हप्ताबाटै उडान खुल्न सक्ने बताएका छन्। तर सीएएसीबाट स्पष्ट जानकारी आएको छैन’, भुलले भने।
चीनले सिंगापुर, जापान, दक्षिण कोरिया, भियतनाम, लाओस, मलेसिया, फिलिपिन्स, बंगलादेशमा उडान खोल्दा समेत नेपाल–चीन सिधा उडान खोलेको छैन।
सीएएसीले अक्टोबर २०२१ देखि २६ मार्च २०२२ सम्म अन्तर्राष्ट्रिय उडान संख्या ४०८ वटामा सीमित गर्ने सूचना सार्वजनिक गरेको थियो।
बीचमा केही उडान कटौती गरे पनि अरु देशबाट नियमित उडान भइरहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
‘नेपालको तर्फबाट कुनै समस्या छैन। चीनले नेपालबाट चीन उडानको सिधा उडान अहिलेसम्म खुल्ला गरेको छैन’, भुलले थपे, ‘चीनले कोभिडको प्रोटोकल परिवर्तन गरेको छैन। सोही कारण उडान हुन सकिरहेको छैन।’
चिनियाँ एयरलाइन्सले प्राधिकरणसँग नियमित उडानको लागि तालिका माग गरे पनि उडान गर्नसकेका छैनन्।
एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सले नियमित प्यासेन्जर उडानको लागि प्राधिकरणसँग स्लट अर्थात् समय लिएका छन्।
चीनले उडान अनुमति दिनेबित्तिकै उडान गर्नुपर्ने भएकाले उनीहरुले स्लट लिएको प्राधिकरणले जनाएको छ।
हाल नेपालबाट चीन जान अत्यावश्यक रहेकालाई परराष्ट्र मन्त्रालयको समन्वयमा कार्गो उडानबाटै व्यवस्था मिलाइएको छ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले भने नेपालमा सिधा उडानको लागि बाटो खोलेको छ। प्राधिकरणले हङकङमा मूलभूमिभन्दा फरक प्रशासन चल्ने भएकाले उडान खोलेको हो।
नेपाल–चीन नियमित उडान हुन नसके पनि नियमित कार्गो उडान भइरहेको छ।
नेपालको हिमालय एयरलाइन्सले नियमित रुपमै नेपाल–चीन कार्गो उडान गरिरहेको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनमा नियमित उडानको पर्खाइमा रहेको बताए।
श्रेष्ठले ५ वटा गन्तव्यमा उडान सुरु गरेकाले हिमालयले यात्रु पाए सबै ठाउँमा पुनः सुरु गर्ने बताए।
‘कुनै देशले उडान खोल्नु नखोल्नु त्यो देशको कुरा हो’, श्रेष्ठले भने, ‘हामी छिट्टै खुल्ने प्रतीक्षामा छौँ। खुल्नेबित्तिकै नियमित उडान हुन्छ।’
उनले चीनको उडान कहिले खुल्छ भन्ने कुनै जानकारी नआएको बताए।
नेपालखबरबाट