हारबाट जोगिन रुसले युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने आशंका

-


     नेपालय न्युज    
     चैत्र ८ गते २०७८


एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको २७ दिनसम्म पनि नतिजा भने निकाल्न सकेको छैन ।

गत फेब्रुअरी २४ देखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको थियो । रुसले युक्रेनलाई आफ्नो कब्जामा लिन युक्रेनमाथि आक्रमण शुरु गरेको हो । तर रुसले सोचे भन्दा फरक ढंगले रुस र युक्रेनको युद्ध अघि बढेको छ । युक्रेन भन्दा कैर्याै गुणा शक्तिशाली मानिएको रुसले युक्रेन युद्ध यति सम्म लम्बिएला भन्ने सोचेको थिएन । तर युक्रेनी सेनाले रुसी सेनासँग हार नमानी निरन्तर प्रतिकार गरेपछि यो युद्ध लम्बिएको छ । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले युक्रेनसँगको युद्ध केही दिनमा टुंगिने अपेक्षा सहित युक्रेनमाथि हमला गरेका थिए।

तर युद्ध पुटिनको सोच विपरित गएको छ । युद्ध सुरु भएको १ महिना पुग्न लाग्दा पनि रुसले कुनै नतिजा निकाल्न सकेको छैन । बरु युक्रेनका नागरिकको अवस्था रुसले भयावह बनाइदिएको छ । रुसले युक्रेनका सबैजसो पूर्वाधारहरु नष्ट गरिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युक्रेनी नागरिकको हृदयविदारक पीडाले विश्वको ध्यान तानेको छ ।

युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनसँग वारम्बार युद्ध रोक्न र वार्ता गर्न आग्रह गर्दा पनि पुटिनले सुनेका छैनन् ।रुसी सेनाले युक्रेनी नागरिकका प्रायः सबै शहरका बस्ने घरहरु ध्वस्त बनाईदिएका छन् । युक्रेनमा पानी, बिद्युत र ग्याँसको अभाव भएको र पर्याप्त खानाको समेत व्यवस्था नहुँदा युक्रेनका नागरिकको अवस्था निकै दयनीय बनेको संचारमाध्यमहरुले जनाएका छन् ।रुसले युक्रेनका राष्ट्रपतिले आत्मसमर्पण गर्ने अपेक्षा गरेको थियो । तर युक्रेनी राष्ट्रपति जेलेन्स्की आत्मसमर्पण गर्न तयार छैनन् ।रुसी सेनाले अहिले युक्रेनको हवाई क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको बीबीसीले जनाएको छ । ३३ लाख भन्दा बढी युक्रेनी नागरिकहरु युद्धबाट जोगिन आफ्नो सबै सम्पत्ति छोडेर छिमेकी मुलुकहरुमा शरणार्थाीका रुपमा प्रवेश गरेका छन् । रुसी सेनाको आक्रमणमा युक्रेनका सयौं नागरिकले ज्यान गुमाएका छन् । युक्रेनले पनि १५ हजार भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ ।

तर यसको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपतिले रुसी आक्रमण बिरुद्ध आफ्नो देशलाई सहयोग गर्न अमेरिका, इटाली लगायत युरोपियन मुलुकहरुलाई आग्रह गरेका छन् । उनले रुस युक्रेनलाई कब्जा गरेर युरोप छिर्न खोजेको दाबी गरेका छन् । युक्रेनी राष्ट्रपतिले पोप फ्रान्सिससँग पनि युद्ध अन्त्यका लागि मध्यस्तता गर्न आग्रह गरेका छन् । युक्रेनमा प्राय सबै शहर नियन्त्रण गरेको रुसी सेनाले राजधानी समेत रहेको कीभ शहरलाई कब्जा गर्न प्रयास जारी राखेको छ । तर युक्रेनी सेनाले सफल हुन दिएका छैनन् ।

रुसले परमाणु हतियार प्रयोग गर्न सक्ने आशंका

रक्षा विशेषज्ञहरुले युक्रेन युद्धमा अहिलेसम्म जित निकाल्न नसकेको रुसले हारबाट जोगिन जैविक र परमाणु हतियार प्रयोग गर्न सक्ने आशंका गरेका छन् । जुन निकै भवाबह अवस्था हुनसक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसले युक्रेनमाथि रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् ।

विश्व दुइ समूहमा विभाजित

पहिलो र दोस्रो विश्वयुद्धजस्तै विश्व अहिले दुई समूहमा बाँडिएको छ । अमेरिका लगायत एउटा समूह युक्रेनको पक्षमा छ भने चीनजस्ता महाशक्ति राष्ट्रले रुसलाई खुलेर समर्थन गरिरहेका छन् । यो युद्ध लम्बिदै गए तेस्रो विश्वयुद्ध हुनसक्ने पनि कतिपयको विश्लेषण रहेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com