लेखनाथ महोत्सवको चौथो दिनसम्म दुई करोडको कारोबार, झण्डै एक हजार केजी माछा बिक्री


     नेपालय न्युज,     
     फागुन २९ गते २०७८


लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा आइतबारसम्म दुई करोड रुपैयाको कारोबार भएको छ । महोत्सवको चौथोदिनसम्म आइपुग्दा ७० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
महोत्सवमा आउने दर्शकहरु विभिन्न स्टलमा राखिएका सामाग्रीहरु खरिद गर्न झुम्मिने गरेका छन् । खानाका विभिन्न परिकारका लागि रेष्टुरेण्ट र बालबालिकाको मनोरञ्जनका सामाग्रीहरुमा समेत दर्शकहरुको चाप देखिने गरेको छ ।
महोत्सवमा स्थानीय उत्पादन तर्फ दैनिक दुई सय केजी माछा विक्री भएको कृषी उपसमितिका संयोजक दयाराम तिवारीले जानकारी दिए । महोत्सवमा अहिलेसम्म एक हजार केजी माछा विक्री भएको तिवारीले जानकारी दिए । स्टलबाट जिउँदा माछा र माछाको सिद्राबाट बनाईएको अचार दर्शकहरुको रोजाईमा परेको तिवारीले बताए ।
महोत्सवमा अहिलेसम्म एक सय ८ जनाले कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स समेत उपलब्ध गराएका छन् । आइतबार पनि विद्यालयस्तरिय सांस्कृतिक कार्यक्रमका साथ रत्यौली गीत प्रतियोगितामा विभिन्न महिला तथा आमा समूहले सहभागिता जनाएका छन् ।
लोकदोहोरी तर्फ पूर्णकला वि.सी र चन्द्र शर्मा लगायतका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
यसैगरी संगितकार एवं गीतकार बसन्त सापकोटाले आफ्नो संगीत तथा रचनाका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए भने साँझ पख युवा पुस्ता डिस्को जक्कीमा रमाएका थिए ।
यही फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com