दुई वर्षपछि पुनः मुम्बई र बैंगलोरमा उडान गर्दै नेपाल एयरलाइन्स, पर्यटक बढ्ने अपेक्षा

-


     नेपालय न्युज    
     फागुन २६ गते २०७८


काठमाडौं । नेपाल एयरलाइन्सले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंगलोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, २०२२) देखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ । यो गन्तव्यमा साताको तीन उडान हुनेछ । काठमाडौं–मुम्बई रुटमा बुधवार, शुक्रवार र आइतवार उडान हुनेछ ।

त्यसैगरी निगमले भारतकै अर्को महत्वपूर्ण गन्तव्य बैंगलोरमा पनि चैत १५ (मार्च २९, २०२२) देखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताए । उनका अनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछ । मंगलवार, बिहीवार र शनिवार उडान सञ्चालन गरिनेछ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि शुरु हुने भएका हुन् । सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन ।

काठमाडौं–बैंगलोर–काठमाडौंको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । नेपाल एयरलाइन्सको बैंग्लोर स्टेसनका प्रबन्धक रीतादेवी राईका अनुसार नेपालबाट बैंगलोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको संख्या ठूलो रहेको छ ।

भारतका सबै गन्तव्यमा पूर्ण क्षमताको उडान
निगमको अन्तरराष्ट्रिय गन्तव्यमध्ये भारतका तीन गन्तब्य नयाँदिल्ली, मुम्बई र बैंगलोर महत्वपूर्ण मानिन्छ । निगमले भारतको नयाँदिल्लीमा भने महामारीताका र त्यसपछि हालका दिनमा पनि नियमित उडान सञ्चालन गरिरहेको छ ।

एयरबबल सम्झौताअनुरुप सीमित संख्यामा उडान भइरहेको भारतका दिल्ली र छिट्टै सञ्चालनमा आउन लागेका थप दुई गन्तव्य मुम्बई र बैंगलोरमा पूर्ण क्षमता अर्थात् पहिलाको उडान जसरी सञ्चालन गर्ने निगमको योजना छ । भारतका तीनओटै गन्तव्यमा अब पूर्ववत क्षमतामै उडान सञ्चालन हुने निगमले उल्लेख गरेको छ ।

काठमाडौं–दिल्ली गन्तव्यमा दैनिक दुई उडान
नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्ने भएको छ । आगामी फागुन ३० गतेदेखि उक्त गन्तव्यमा दैनिक दुई उडान सञ्चालन गरिने निगमले जनाएको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै निगमले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो । अहिले भारतबाट एयर इण्डिया, इण्डिगो एयर र भिस्तारा एयरले काठमाडौं गन्तव्यका लागि नियमित उडान गरिरहेका छन् ।

बैंककमा साताको दुई उडान
नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको निगमले आगामी चैत ७ गतेदेखि सातामा दुई उडान गर्ने तयारी गरेको निगमका प्रवक्ता खड्काले बताए । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ ।

पर्यटक बढ्ने व्यवसायीको अपेक्षा
नेपालमा विदेशी पर्यटक आगमनका हिसाबले सबैभन्दा बढी नेपाल भित्रिने मुलुकमा छिमेकी मुलुक भारत पर्छ । कोभिड महामारीका कारण करीब दुई वर्षदेखि भारतीय पर्यटक उल्लेख्य संख्यामा नेपाल आउन सकेका थिएनन् । स्थल हुँदै हवाई मार्ग पनि सहज भएकाले आगामी दिनमा भारतीय नागरिक धेरै संख्यामा आउने व्यवसायीले आंकलन गर्न थालेका छन् ।

भारतका तीनओटै गन्तव्यबाट सिधा हवाई उडान पनि हुने भएकाले भारतीय पर्यटक बढ्ने उनीहरुको अपेक्षा छ । धार्मिक तथा मनोरञ्जनका लागि भारतीय पर्यटकको रोजाइमा नेपाल गन्तव्य पर्छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले भारतका तीनओटै गन्तव्य दिल्ली, मुम्बई र बैंग्लोर गन्तव्यको उडान खोल्ने र पीसीआर हटाएर कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई आवतजावत गर्न दिने विषय ठूलो उपलब्धि हो भन्दै नेपालको तर्फबाट पनि कतिपय मापदण्ड सहज बनाएको खण्डमा भारतीय पर्यटकको ओइरो लाग्ने विश्वास दिलाए ।

नेपालको पर्यटनको भविष्य उज्ज्वल रहेको उनले बताए । ‘नेपाल सरकारको तर्फबाट पनि खोप लगाएका पर्यटकलाई आउन दिने र अनअराइभल भिसाको व्यवस्था गर्नुपर्छ, हामी निजी क्षेत्रको धारणा पनि यही हो’, उनले भने । रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com