
काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेलाई सत्ता गठबन्धनबाट दायाँबायाँ सोच्न नहुने बताएका छन्।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधनका क्रममा उनले सत्ता गठबन्धन भित्रैबाट सबै कुराको समाधान खोजिनुपर्ने बताए।
प्रचण्डले संघ, संस्थादेखि ठूला निर्वाचनमा पनि सत्ता गठबन्धनको तालमेल यथावत राखेर अघि बढ्ने बताएका छन्।
‘अहिलेलाई गठबन्धनभित्रै सबै कुराको समाधान खोजिनुपर्छ। चुनावी तालमेल पनि यही गठबन्धनमा हुन्छ’, उनले भने, ‘जे जे हुन्छ, गठबन्धनभित्रै गरौँ, कोही पनि बाहिर जाने या अर्को सहकार्यबारे अहिले नसोचौँ।’
उनले देशमा अब जति पनि चुनाव हुन्छन्, ती सबैमा गठबन्धनसहित जाने बताए। ‘नेपाल बार एसोसिएसन र गैरआवासीय नेपाल संघको चुनावमा पनि गठबन्धनलाई लैजानु पर्छ’, उनले भने, ‘बाहिर भेटघाट र वार्ता पनि गठबन्धनकै मान्छेसँग मात्रै गर्ने गरौँ।’
बैठकमा बोल्ने क्रममा उनले अब पार्टी नेताहरु पालिका पालिकामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
‘अब हामी प्रदेश र पालिका पालिकामा केन्द्रित हुनुपर्छ। अहिलेलाई एमसीसीसहितका फरक मतहरुलाई थाँती राखौँ’, उनले भने, ‘जेठ २० गतेको केन्द्रीय समिति बैठकमा छलफल गरौँला।
मुख्य कुरा केन्द्रीय सदस्यहरु प्रदेश र पालिका पालिकामा केन्द्रित होऔं।’
उनले पार्टीभित्रको विवादलाई सार्वजनिक फोरममा नलैजान पनि अपिल गरे। ‘सबै नेताहरुले निर्वाचनका लागि एउटै बोली बनाएर जाऊँ’, उनले भने, ‘अहिले कुनै पनि असन्तुष्टिहरू सार्वजनिक रुपमा नदेखाऊँ।’
प्रचण्डले आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकमा सहमति नभए निर्वाचनबाट महासचिव र अन्य पदाधिकारीको टुंगो गर्ने पनि बताएका छन्।
माओवादीले पुसमा आठौं महाधिवेशन गरेयता महासचिवसहितका पदाधिकारीको टुंगो गर्न सकेको छैन। सोमबारको बैठकले पनि सबै केन्द्रीय सदस्य छान्न सकेन। नेपालखबरबाट