
रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा केही घण्टाअघि मात्र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले एउटा भावुक सम्बोधन गरेका थिए। रुसी जनतालाई सम्बोधन गर्दै उनले युद्ध रोक्न आह्वान गरेका थिए।
उनको सम्बोधनको पूर्णपाठः
आज मैले रुसका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ। तर, त्यसको कुनै जवाफ आएन। त्यसैले म आज रुसका जनतालाई सम्बोधन गर्न चाहन्छु। म तपाईंहरुलाई आज राष्ट्रपतिका रुपमा होइन, एक युक्रेनी नागरिकको रुपमा सम्बोधन गरिरहेको छु।
दुई हजार किलोमिटरभन्दा लामो सीमाले तपाईं हामीलाई छुट्याएको छ। यो सीमासँगै तपाईंहरुका सैनिक तैनाथ छन्, झण्डै दुई लाख जना। हजारौँ सैन्य वाहन छन्। तपाईंहरुका नेताहरुले ती सैनिकलाई अगाडि बढेर अर्को मुलुकको भूमिमा प्रवेश गर्ने अधिकार दिएका छन्। र, यो कदम युरोप महादेशमा एउटा ठूलो युद्धको सुरुवात बन्न सक्छ।
हामीलाई प्रष्ट थाहा छ, यो युद्ध हामीलाई आवश्यक छैन। न शीतयुद्ध न वास्तविक युद्ध। न कुनै मिश्रित युद्ध नै चाहिएको छ। तर, यदि हामीमाथि आक्रमण भयो भने, तिनले हाम्रो मुलुक खोस्ने प्रयास गरे भने, हाम्रो स्वतन्त्रता, हाम्रो जीवन, हाम्रा बालबच्चाको जीवन खोस्न खोजे भने हामी त्यसको प्रतिरक्षा गर्नेछौँ। र, तपाईंहरुले हामीलाई आक्रमण गर्दा हामी पिठ्युँ फर्काएर भाग्ने छैनौँ, अनुहार देखाएर सामना गर्नेछौँ।
युद्ध निकै ठूलो प्रलय हो। र, प्रलयको मूल्य निकै चर्को छ। मानिसहरुले पैसा गुमाउनेछन्। प्रतिष्ठा, जीवनस्तर र आफ्नो स्वतन्त्रता गुमाउनेछन्। तर, सबैभन्दा मुख्य कुरा मानिसहरुले आफ्ना प्रियजन गुमाउने छन्, आफैँलाई गुमाउनेछन्।
युक्रेनले रुसका लागि खतरा पैदा गरिरहेको छ– तिनले तपाईंहरुलाई भनेका छन्। तर, यो कुरा साँचो थिएन, अहिले पनि छैन र भविष्यमा पनि साँचो हुने छैन। तपाईंहरु नेटोबाट सुरक्षाको ग्यारेन्टी मागिरहनुभएको छ। तर, हामी पनि सुरक्षाको ग्यारेन्टी माग्छौँ। तपाईंहरुबाट, रुसबाट। बुडापेस्ट सम्झौताअनुसार युक्रेनको सुरक्षाको ग्यारेन्टी माग्छौँ।
हाम्रो मुख्य लक्ष्य युक्रेनमा शान्ति र युक्रेनी जनताको सुरक्षा हो। त्यसका लागि हामी जोसँग पनि वार्ता गर्न तयार छौँ, तपाईंहरुसँग पनि। जुनसुकै ढाँचा र स्थानमा। युद्धले कसैको पनि सुरक्षाको ग्यारेन्टी गर्दैन। यो युद्धबाट सबैभन्दा बढी पीडित को हुनेछ? जनता। युद्ध नहोस् भन्ने चाहना सबैभन्दा बढी कसलाई छ? जनतालाई। युद्ध कसले रोक्न सक्छ? जनताले। तर, के तपाईंहरुमध्ये युद्ध रोक्न चाहने कोही हुनुहुन्छ त? अवश्य पनि हुनुहुन्छ भन्ने मलाई लाग्छ।
मलाई थाहा छ, रुसी राज्यले मेरो सम्बोधन रुसी टीभीमा देखाउने छैन। तर, रुसी जनताले यो हेर्नैपर्छ। उनीहरुले सत्य जान्न आवश्यक छ। र, सत्य के हो भने बेला बित्नुअघि नै युद्ध रोक्ने समय यही हो।
र, यदि रुसी नेताहरु शान्तिका लागि हामीसँग टेबलमा बस्न चाहँदैनन् भने पनि सायद तपाईंहरुसँग तिनले संवाद गर्लान्। के रुसीहरु युद्ध चाहन्छन्? म उत्तर जान्न चाहन्छु। र, त्यो उत्तर तपाईं रुसी जनतामा मात्र निर्भर रहनेछ।’
(अलजजिराबाट)