
पोखरा,
पोखरालाई कर्मथलो बनाएर पथप्रदर्शन गरिरहेका पर्यटनकर्मीलाई स्थलगत सीप सम्बन्धि तालिम विहीवारदेखि शुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिको आयोजनामा शुरु भएको तालिम फागुन १९ गतेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो । ट्रेकिङ र पर्वतीय पर्यटनमा लागेका गाइडहरुको दक्षता अभिबृद्दी गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबर्द्धनात्मक सहयोग, काठमाडौं ईन्भाईरोमेण्टल एजुकेशन प्रोजेक्ट (कीप) नेपालको साझेदारी, उद्योग पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको सहयोग रहेको छ ।
तलिमको उद्घाटन गर्दे प्रदेश सरकारका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पर्वतीय पर्यटनबाट व्यवसायीले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो। पर्वतीय गतिविधिको थप प्रचारप्रसार गर्नुपर्ने र आवश्यक जनशक्ति लाई तालिम दिएर थप व्यवसायिक बनाउने कुरामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले पर्वतीय पर्यटनका बिबिध आयाम र दक्ष जनशक्तिको महत्त्व बारेमा प्रकाश पार्नुभएको थियो । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश संगको सहकार्यमा यस अगाडि थुप्रै कार्यक्रम गरिसकेको र आउँदा दिनहरुमा पनि गरिने उहाँको भनाइ थियो।
कीप नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वालले तालिममा दिईने विषयवस्तुको बारेमा प्रकाश पारेका थिए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव सुदिप गौतम तथा कोषाध्यक्ष बिकाश गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
यो प्रकृतिको तालिम पोखरामा पहिलो पटक भएको संघको दावी छ । तालिममा तालिममा पर्वतीय पर्यटनमा अति आवश्यक नक्सा अध्ययन, कठीन परिस्थितिहरुमा दिशा पत्ता लगाउने कला, प्राथमिक उपचार, तारा अध्ययन, कथाबाचन लगायतका विषयवस्तु माथि छलफल गरिनेछ ।