
सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी छिन् । कास्कीको रुपा गाउँपालिका १, स्थायी घर भएकी परियार पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी सीडीओ बनेकी हुन् । गृह मन्त्रालयले बिहीबार साँझ उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ ।
दश बर्षअघि शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेकी परियारलाई गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएपछि दलित महिलाबाट पहिलो पटक सीडीओ बन्ने ईतिहास रचेकी हुन । सीता दलित समुदायबाट तेस्रो प्रमुख जिल्ला अधिकारी हुन । परियार यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरेकी थिइन ।
दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगालेकी छिन् ।
यसबीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् । सीता नेपाली कांग्रेसको केन्द्रिय सह महामन्त्री जीवन परियारकी श्रीमती समेत हुन ।