
ओटावा (क्यानडा) । क्यानडा सरकारले यस वर्ष ४ लाख ३१ हजार ६४५ स्थायी बासिन्दा भित्र्याउने लक्ष्य घोषणा गरेको छ ।
फेब्रुअरी १४ मा सार्वजनिक एक विज्ञप्तिमा श्रम बजारमा अभावतर्फ औंल्याउँदै सरकारले यसअघि यस वर्ष ४ लाख ११ हजार रहेको आप्रवासी भित्र्याउने लक्ष्यलाई बढाएको हो । यो क्यानडा सरकारले सन् २०२२ देखि सन् २०२४ को बीचमा १३ लाखभन्दा धेरै आप्रवासी भित्र्याउने अध्यागमन ‘लेभल्स प्लान’ को हिस्सा हो ।
क्यानडा सरकारले सन् २०२३ को लक्ष्य पनि २६ हजार ५५ ले बढाएर ४ लाख ४७ हजार ५५ जनामा पुर्याएको छ । सन् २०२४ मा ४ लाख ५१ हजार १०० जना आप्रवासी भित्र्याउने लक्ष्य छ । कोरोना भाइरसको महामारीबाट क्यानडाको अर्थतन्त्र उब्रिरहेको छ । यस्तोमा आर्थिक वृद्धिदरलाई टेवा दिन प्रधानमन्त्री जष्टिन ट्रुडो नेतृत्वको सरकारले यस अघि तय गरिएको लक्ष्य भन्दा धेरै आप्रवासी भित्र्याउन लागेको हो ।
क्यानडाको अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन विदेशी कामदारहरुले मद्दत गरेको त्यहाँका अध्यागमन मन्त्री सिन फ्रेजरले विज्ञप्तिमा भनेका छन् । ‘हामीहरु आर्थिक पुनःबहालीमा केन्द्रीत छौं र त्यहाँ पुग्ने बाटो आप्रवासन नै हो’, फ्रेजरले भनेका छन् ।
सन् २०२२ मा एक्सप्रेस वे इन्ट्री, प्रान्तद्वारा मनोनित कार्यक्रम र अस्थायीदेखि स्थायी आवास (टीआरटूपीआर) जस्ता आर्थिक वर्ग मार्गबाट करीब ५६ प्रतिशत नयाँ आप्रवासीहरु क्यानडा जानेछन् । यी सबै सन् २०२१ मा उपलब्ध गराइएका भिसा कार्यक्रम हुन् । पछिल्लो घोषणा सन् २०२० मा पहिलो पटक अध्यागमन ‘लेभल प्लान’ ल्याएयताको पहिलो हो ।
अध्यागमन क्यानडाको अर्थतन्त्रको मुख्य चालकको रुपमा रहेको छ । गत वर्ष क्यानडाले ४ लाख ५ हजारभन्दा धेरै आप्रवासी भित्र्याएको थियो । यो क्यानडाको इतिहासमा एकै वर्षमा भित्रिएको अहिलेसम्मकै धेरै आप्रवासी हुन् ।
विश्वमा सबैभन्दा वृद्ध जनसंख्या भएको देशमध्ये एक क्यानडा पनि हो । यहाँको जन्मदर पनि विश्वमा सबैभन्दा कममा पर्दछ । पछिल्लो समय क्यानडामा चरम कामदार अभाव देखिएको छ । क्यानडाले सन् १९८८ यता वर्षेनी २ लाख भन्दा धेरै आप्रवासी भित्र्याइरहेको छ । हालैका वर्षमा यो बढेर वार्षिक ३ लाख माथि पुगेको छ । मा विशवसन् २०१६ मा जनगणना भएयता क्यानडामा १४ लाख नयाँ आप्रवासी आएका छन् । एजेन्सी