
रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।
ब्लिङ्कनले भने, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, ‘युक्रेन संकटको कुटनीतिक समाधानका लागि सबै आशा अहिले नै समाप्त भएका थिएनन् । युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीपश्चात् पनि एउटा सम्झौता अहिले पनि सम्भव छ ।’
दुबै नेताले फोनमा भएको कुराकानीमा यसबारे सहमति व्यक्त गरेका थिए ।
रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ, तर उनीहरुले हमलाको कुरालाई अस्वीकार गर्दै आएका छन् ।
लगभग दर्जन बढी देशले आफ्नो नागरिकलाई तुरुन्त युक्रेन छोड्न भनेको छ । यस्तै अमेरिकाका अनुसार युक्रेनमाथि हवाई हमला कुनै पनि बेला सुरु हुनसक्छ । अमेरिकाले आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ । एजेन्सी