
राजाराम पौडेल । पोखरा
कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने तय भएको छ । आयोजक पोखरा थिएटरले दिएको जानकारी अनुसार फागुन १३ गते शुक्रबारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ । यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने तय भएको थियो ।
महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो । छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।
‘फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले ४ दिन नाटक मञ्चन गरिनेछ’ परिवर्तनले भन्नुभयो ।
नाटक छनोटका लागि पौष २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो । अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतीका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको आयोजकको भनाई छ ।
अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन् । जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्रा.वि.को हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शिर्षकको नाटक रहेका छन् ।
कास्की जिल्लाबाट दुई नाटक छनोटमा परेका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शिर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन् ।
लमजुङ जिल्लाबाट दुईवटा नाटक छनोट भएका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनवहादुर शिर्षकको नाटक र सुर्य बहादुर के.सी.को लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदालाशहरु शिर्षकको नाटक रहेका छन् ।
तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो छनोट भएको छ ।
यसैगरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा शिर्षकको नाटक अन्तिम छनोटमा पर्न सफल भएको छ ।
म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शिर्षकको नाटक छनोट भएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गर्नु भएको छ ।
बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पिडा शिर्षकको नाटक छनोट भएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।
यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शिर्षकको नाटक छनोटमा परेको छ । मिना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गर्नुभएको छ ।
नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको छ । उहाँहरुले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गर्नुभएको हो ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।
गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।