
(अमेरिका) । अमेरिकी बहुराट्रिय प्रविधि कम्पनी एप्पल इंकले फाइभजी चल्ने सस्तो खालको फोन ल्याउँदैछ ।
कम्पनी छिटोमा मार्च ८ आसपास तिर न्यून मूल्य भएको फाइभ जी फोन र आईप्याड सार्वजनिक गर्न लागेको भन्दै पछिल्लो समय अन्तरराष्ट्रिय समाचार संस्थाहरुले समाचार छापेका छन् ।
नयाँ आइप्याड नयाँ म्याक हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले ती फोन सार्वजनिक गर्यो भने यो सन् २०२१ को अक्टोबर यताको पहिलो लञ्च हुनेछ । कम्पनीले यी फोनहरु भर्चुअल कार्यक्रममा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले हाल आईफोन एसई नामक सस्तो खालको फोन बेचिरहेको छ । यो फोन पहिलो पटक सन् २०२० को बसन्तमा सार्वजनिक गरिएको थियो । यसको खुद्रा मूल्य ३९९ डलर छ । यसमा कम्पनीको टच आईडी फिङ्गरप्रिन्ट सेन्सर छ ।
कम्पनीले मार्चमा सार्वजनिक गर्ने भनिएको फाइभ जी सपोर्ट गर्ने फोन ‘आईफोन एसई’को अपडेटेड संस्करण हुने बताइएको छ । यसको डिजाइन उही भएपनि यसमा तीव्र गतिको प्रोसेसर हुनेछ र यसले फाइभजीलाई सपोर्ट गर्नेछ । यसमा क्यामरा पनि सुधारिएको हुनेछ । यो आईफोन मार्च वा अप्रिलदेखि नै विश्व बजारमा विक्रीका लागि उपलब्ध हुने हल्ला चलेको छ ।
समाचारहरुको कुरा पत्याउने हो भने नयाँ आइप्याड भने आइप्याड एयरको अपडेटेड संस्करण हुनेछ । यो उपकरण यस अघि सन् २०२० को अक्टोबरमा अपडेट गरिएको थियो । यसको खुद्रा मूल्य पछिल्लो समय ५९९ डलर छ ।
गत त्रैमासमा एप्पलको आइप्याड व्यवसाय विक्रीमा कमी बेहोर्ने एक मात्रै मुख्य प्रडक्ट लाइन थियो । विद्यालयहरुलाई लक्षित गरिएको सस्तो मूल्यको आइप्याड र ठूला परिमाणमा विक्री सुस्ताउँदा सो व्यवसायमा कमी आउनुको मुख्य कारण भएको एप्पलले बताएको छ ।
यसको साथै एप्पलले मार्चमै आईओएस १५.४ पनि सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । कम्पनीले हरेक वर्ष शिशिर ऋतुमा महँगा अनि बढी नाफामुलक आइफोन मोडल सार्वजनिक गर्दै आएको छ । सस्तो खालको उपकरण लञ्च कार्यक्रम कम्पनीको लागि खासै धेरै महत्वपूर्ण मानिदैंन । एजेन्सी