चुनावी गठबन्धन नगरे कांग्रेस सकिन्छ : वरिष्ठ नेता पौडेल

-


     नेपालय न्युज    
     माघ २३ गते २०७८


पोखरा, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेतावनी दिनु भएको छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उहाँले आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई एक्लै चुनाव जितेर देखाउन पनि पौडेलले चुनौती दिनुभयो । आफ्नै पार्टीका नेताहरुलाई उहाँले ‘चुनावपछि कांग्रेस इतिश्री हुने हो ?’ भन्ने प्रश्न गर्दै पार्टीले चुनाव लड्नका लागि मात्र लड्ने की जित्नका लागि भनेर जवाफ माग्नुभयो ।

७० प्रतिशत मत कांग्रेस वाहेकसंग भएकाले ३० प्रतिशतले एक्लै हिड्छु भन्यो भने के हुन्छ ?’ भनेर पौडेलले काँग्रेस नेताहरुलाई प्रश्न गर्नुभयो ।

गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उहाँले यसको उपयोग गर्न नसकिएको बताउनुभयो । गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उहाँले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिनुभयो । एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उहाँको भनाइ छ ।

सङ्घीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सङ्गठन मजबुद बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचार मौलाउँदा त्यसले देश, लोकतन्त्र सबैलाई नकारात्मक असर पारिरहेको बताउनुभयो । भ्रष्टाचारमुक्त राष्ट्र बनाउनेतर्फ लाग्नु आवश्यक भएको उहाँले बताउनुभयो । संसद् र न्यायालय अनिर्णयको बन्दी बन्न नहुने उहाँको भनाइ छ । इतिहासले काँग्रेसलाई दिएको जिम्मेवारीलाई ठीक ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले वर्तमानमा आएको जिम्मेवारीलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले एमसिसी जस्ता विषयमा नेताको फरकफरक विचारभन्दा पनि संस्थागतरुपमा निर्णय गरी अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका सहमहामन्त्री जीवन परियारले पार्टीले आफ्नो विधानअनुसार सबै प्रदेशमा निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गरेको जनाउँदै कार्यालय सञ्चालन गरी संस्थागतरुपमा सङ्गठनका गतिविधि बढाउन खोजेकामा गण्डकी प्रदेश कार्यसमितिलाई धन्न्यवाद व्यक्त गर्नुभयो ।

आगामी दिनमा पार्टीले केन्द्रदेखि वडा तहसम्म नीति अनुसन्धान तथा प्रशिक्षणका कामलाई संस्थागतरुपमा अघि बढाउने उहाँले बताउनुभयो ।

पार्टीका प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्माले कार्यालय स्थापना गरी सङ्गठनका गतिविधिलाई संस्थागतरुपमा अघि बढाउन खोजिएको जनाउँदै सबैको साथ र सहयोगमा प्रदेशमा पार्टी सङ्गठनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा रेवतीरमण सुवेदीले लेख्नुभएको ‘शहीद क्याप्टेन यज्ञबहादुर थापा’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेता अर्जुनप्रसाद जोशी, वाग्लुङ जिल्ला सभापति जीत शेरचन, प्रदेश कार्यसमितिका महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, उपसभापति कल्पना तिवारी, पुस्तकका लेखक रेवतीरमण सुवेदी, समीक्षक डा वासुदेव भण्डारीलगायतले बोल्नुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com