अमेरिकाद्वारा चाइना युनिकमको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न आदेश


     नेपालय न्युज,     
     माघ १५ गते २०७८


वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले पछिल्लो पटक चिनियाँ टेलिकम कम्पनी चाइना युनिकमलाई प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरुतर्फ औंल्याउँदै फेडरल कम्युनिकेशन कमिशन (एफसीसी) ले कम्पनीलाई ६० दिनभित्र अमेरिकामा सेवा उपलब्ध गराउन बन्द गर्नु पर्ने बताएको छ ।

एफसीसीले उक्त कम्पनीले जासुसी गर्न खोजेको आफूहरूसँग प्रशस्त प्रमाण भएको बताएको छ । साथै एफसीसीले चिनियाँ राज्य- स्वामित्वका कम्पनीहरूले अमेरिकी दूरसञ्चार नेटवर्कहरूको सुरक्षामा वास्तविक खतरा खडा गरेको भन्दै यो निर्णय लिएको बताएको छ ।

यसअघि पनि अमेरिकाले चीनको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी चाइना टेलिकमलाई दिइएको लाइसेन्स खारेज गरेको थियो । चीनको दूरसञ्चार बजारमा प्रभुत्व जमाएका तीन ओटा कम्पनीमध्ये एक हो, चाइना युनिकम। अमेरिकामा यो कम्पनीले लामो सयमदेखि सेवा दिंदै आइरहेको छ ।

यद्यपि चाइना युनिकमले भने आफ्नो अमेरिकी शाखाले विगतका दुई दशकमा ग्राहकका लागि भरपर्दो रूपमा अमेरिकी कानून र नियमहरूको पालना गर्दै सेवा दिएको बीबीसीलाई बताएको छ ।

यस विषयमा वाशिङ्गटनस्थित चिनियाँ दूतावासले भने आफ्नो प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । पछिल्ला केही वर्षमा चिनियाँ प्रविधि र टेलिकम कम्पनीहरूलाई अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै प्रतिबन्ध लगाउँदै आएको छ ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com