भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो ।
भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले नियम प्रक्रिया पुरा गरेर स्वामित्व हस्तान्तरण भएको बताएका छन् । उनले ट्वीटरमा उल्लेख गरेका छन, ‘एयर इण्डिया बेच्ने प्रक्रिया नियमसंगत तरिकाबाट पुरा गरिएको छ ।’
यसअघि, सन् २०२१ मा टाटा समूहले एयर इण्डियाको लिलामी जितेको थियो । २०२१ को अक्टोबरमा भएको लिलामीमा टाटा समूहको टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको थियो । सोही, बोलीसँगै अधिग्रहण प्रक्रिया अगाडी बढाइएको थियो ।
उक्त समयमा टाटा समूहका रतन टाटाले एयर इण्डिया घर फर्किएको भनेर स्वागत गरेको थियो । एयर इण्डियाको स्थापना टाटा समूहले नै गरेको थियो । स्थापना कालमा टाटा एयरलाइन्स नामाकरण गरिएको कम्पनीको नाम कालान्तरमा भारत सरकारले लिएपछि एयर इण्डिया राखिएको थियो । एजेन्सी