शेष घलेले एनआरएनएको चुनाव गराउने


     नेपालय न्युज,     
     माघ १ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा.शेष घलेले पाएका छन् ।

शनिबार बसेको संघको ८१ औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन सम्पन्न गर्न प्रमुख संरक्षक घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन सम्पन्न हुन नसकिरहेका बेला घलेले उक्त जिम्मेवारी पाएका छन् ।

समितिको सदस्यमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन् । बैठकले संघको दशौं महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा महाधिवेशन प्रतिनिधिको चयन विधानसम्मत र विगतको अभ्यासअनुसार चयन गर्ने र त्यसको निर्क्योल घले नेतृत्वको समितिले गर्ने सहमति भएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com