
टोकियो (जापान) । जापान सरकारले कोरोना भाइरसको संक्रामक भेरियन्ट ओमिक्रोन फैलिन नदिन सीमामा गरेको कठोर नियन्त्रणलाई फेब्रुअरीको अन्त्यसम्म कायम गर्ने भएको छ ।
मंगलवार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले यस्तो बताएका हुन् । जापानले नोभेम्बरको ३० मा पहिलो ओमिक्रोन संक्रमण पुष्टि भएयता सीमामा कठोर प्रतिबन्ध लगाएको छ ।
यस अन्तर्गत विदेशीहरुको नवप्रवेशमा प्रतिबन्ध लगाइएको छ भने विशेष खालको अपवादको अवस्थामा भएका बाहेक जापानी नागरिक र स्थायी बासिन्दाका जहान र छोराछोरीलाई प्रवेशको अनुमति दिइएको छैन ।
जापान र विदेशमा ओमिक्रोनको संक्रमणको अवस्था स्पष्ट रुपमा फरक रहेकोले विद्यमान सीमा नियन्त्रणको ढाँचा फेब्रुअरीको अन्त्यसम्म कायम गरिने किशिदाले पत्रकारहरुसमक्ष भनेका थिए । यो योजना शुरुमा डिसेम्बरको अन्त्यसम्म एक महीनाका लागि लगाइएको थियो ।
किशिदाले यसअघि नयाँ वर्षको सार्वजनिक बिदामा संक्रमणको अवस्था हेरेर सीमा नियन्त्रण सम्बन्धी निर्णय यही हप्ता गर्ने बताएका थिए । विदेशबाट दैनिक आउने यात्रीको संख्या पनि ३ हजार ५०० मा सीमित राखिएको छ । एजेन्सी